चैत १६, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेपालमा जनताको नेतृत्व गर्न लायक समाजवादी राज्य प्रणाली स्थापित गर्नका लागि कम्युनिष्ट एकता हुन लागेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले पार्टी एकताका लागि बन्दै गरेको प्रतिवेदनमा सशक्त पार्टी निर्माणको पूर्वाधार तयार गरिने बताए ।
हाल एकता प्रक्रियामा नआएका वामपन्थी तथा कम्युनिष्टहरुलाई पनि भविष्यमा एकठाउँमा ल्याउने गरी दस्ताबेज बनाइने उनले बताए ।
एमाले र माओवादीबिचको पार्टी एकता भएरै छाड्ने पौडेलले दाबी गरे ।
एमाले ठूलो र माओावदी सानो पार्टी भएकाले त्यही अनुसार एकता हुने भन्ने कुराको खण्डन गर्दै पौडेलले कहिले कुन पार्टी र कहिले कुन पार्टी ठूलो–सानो भइरहने बताए ।
“गणितीय रुपमा कुनै समय माओवादी ठूलो भयो, कुनै समय एमाले । दुईवटा अलग अलग पृष्ठभूमि भएका पार्टीको आ–आफ्नै योगदान छ । दुवै पार्टीबिच गणीतीय वा प्रतिशतको हिसाबले एकता गर्न खोजिएको होइन ।” पौडेलले भने ।
नेता पौडेलले देश विकासका लागि पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजनक बाबुराम भट्टराई आवश्यक पात्र रहेको बताए ।
“बाबुराम भट्टराईले सुरु गर्नुभएको विकासको बहसलाई हामीले सम्मान गरेका छौँ । खुशीको कुरा हो । उहाँ पनि विकास र समृद्धिका लागि आवश्यक पात्र हो । तर एक्लै हिँडेर होइन, हाम्रो अभियान र राज्यसँग जोडिनुपर्छ । यसका लागि म उहाँलाई आग्रह गर्छु ।” पौडेलले भने ।