काठमाडौं १८ चैत । प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले एक सार्वजनिक समारोहमा भारतीय राष्ट्रिय गानमा रोक लगाएका छन् । सप्तरीको राजविराजमा शनिबार आयोजना गरिएको कायस्थ जातिको जातीय समिति चित्रगुप्त सेवा समितिको स्वर्ण महोत्सवमा भारतीय राष्ट्रिय गानमा रोक लगाइएको हो ।
कार्यक्रममा नेपाल र भारतका कायस्थ जातिका अगुवाहरुको सहभागिता रहेको छ । कार्यक्रमको सूचीमा नेपाली र भारतीय दुवै देशको राष्ट्रिय गानको कार्यक्रम राखिएपछि प्रदेश प्रमुख कायस्थले असन्तुष्टि जनाएको उनी निकट स्रोतले बतायो ।
आयोजक संस्था चित्रगुप्त सेवा समितिका महासचिव सतिषकुमार दत्तले प्रदेश प्रमुखकै आग्रहमा कार्यक्रम सूचीबाट भारतीय राष्ट्रिय गान हटाइएको जानकारी दिए । प्रदेश प्रमुख कायस्थका प्रमुख स्वकीय सचिव मो युसुफले आफूले नै आयोजकलाई भारतीय राष्ट्रिय गान कार्यक्रममा नराख्न आग्रह गरेको बताए । उनले संवैधानिक अंगका व्यक्ति मञ्चमा रहँदा भारतीय राष्ट्रिय गान गाउनु उचित नहुने भएकाले प्रदेश प्रमुख उपस्थित रहेको कार्यक्रममा भारतीय राष्ट्रिय गान नराख्न आयोजकलाई आग्रह गरेको बताए । उक्त आग्रह पछि आयोजकले कार्यक्रममा नेपाली राष्ट्रिय गानको कार्यक्रम मात्र राखेको थियो ।