Logo

संस्कृत विश्वविद्यालयको शुल्क वृद्धिको विरुद्धमा तीन विद्यार्थी संगठन एक ठाउँमा



माँग पूरा नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी
काठमाडौं, १९ चैत्र । नेपाल संस्कृत विश्विद्यालयको खस्कँदो शैक्षिक अवस्था सुधारको लागि तीन वटै विद्यार्थी संगठनले ९ बुँदे माँग अघि सारेका छन् । आफूहरुले अघि सारेका जायज माँगहरु तत्काल पूरा नगरे चरणवद्ध आन्दोलनमा उत्रने उनीहरुको चेतावनी रहेको छ ।

सोमबार अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीको संयुक्त संघर्ष समितिले एक विज्ञप्ती जारी गर्दै माँग पूरा गर्न दबाब दिएको हो । उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था विरामी परेको उल्लेख गर्दै यसको सुधारको लागि आफूहरुले अघि सारेका माँगहरु पूरा नगरे संयुक्त संघर्ष समितिले कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।

उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘२२ वर्ष पुरानो पाठ्यक्रम, पाठ्यपुस्तकको उपलब्धता, शिक्षण पद्धती, दलीय खिचातानी र राज्यको बेखबरको कारण दिनानुदिन अस्तव्यस्त हुँदै गैरहेको छ । शैक्षिक, प्रशासनिक र आर्थिक अवस्था दयनीय छ । राजनैतिक भर्तीकेन्द्रको रुपमा विकसित गरेको कारण विद्यार्थी र प्राध्यापक हाराहारी हुने अवस्था सिर्जना भएको छ । खोज अनुशन्धानमा शुन्यता छ । गैरजिम्मेवार ढंगले विश्विद्यालय शुल्क वृद्धि गरिएको छ । यस्ता अस्तव्यस्त अवस्थाको सुधार गर्नुपर्ने माँगसहित हामी अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी संयुक्त संघर्ष समितिले मार्फत चरणवद्ध आन्दोलनमा रहेका छौं ।’

विभिन्न चिठी, ज्ञापनपत्र, अल्टिमेमट दिएर विश्वविद्यालय प्रशासनलाई जानकारी गराउँदा पनि प्रशासन गम्भिर नभएकोले आफूहरुले वाल्मीकि विद्यापीठको प्रशासन र नेविसंघ सम्पर्क कार्यालय मनोहरामा तालाबन्दी गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा थप भनिएको छ,‘तालाबन्दी गरिएको पनि आज २६ दिन पुगेको छ । तर विश्वविाद्यलयको तर्फबाट अनौपचारिक छलफल समेत भएको छैन ।’

यो अकर्मण्यता र अस्तव्यस्थामा ठोस सुधारको पहल नभएसम्म आफूहरु आन्दोलनमा रहने नेविसंघका वाल्मीकि ईकाइका निवर्तमान सभापति अच्युत लम्सालले चेतावनी दिए । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा लम्सालले भने,‘विश्वविद्यालयको संरचनागत सुधार हाम्रो मुख्य माँग हो, हामीले उठाएका माँग सम्बोधन नभएसम्म हामी चरणबछ आन्दोनलमा उत्रने छौ ।’

संयुक्त संघर्ष समितिले अघि सारेका माँगहरुमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने, शुल्क वृद्धि फिर्ता गर्नुपर्ने, दिक्षान्त समारोह गर्नुपर्ने, स्ववियु हाजिरीको व्यवस्था गर्नुपर्ने, विश्वविद्यालयको अतिक्रमित जग्गा विश्वविद्यालय मातहत ल्याउनुपर्ने, संस्कृत छात्रावासलाई सुदृढीकरण गर्नुपर्ने, विश्वविद्यालयको वेबसाईट व्यवस्थित् रुपमा सञ्चालन गर्नुपर्ने र विद्यार्थीसँग भएका पूर्व सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्