काठमाडौँ, १९ चैत : ‘आर्थिक गणना २०७५’ का लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)ले रु नौ करोड ५१ लाख बराबरको सामग्री प्रदान गरेको छ ।
केन्द्रीय तथ्यांक विभाग र जाइकाबीच प्राविधिक सहायता सहयोग कार्यक्रमअन्तर्गत आज सो सामग्री प्रदान गरिएको हो । जाइकाले ट्याब्लेट, ल्यापटप, डेक्सटप कम्प्युटर, प्रोजेक्टर, मनिटर, मोबाइल फोन, झोला, टोपी, कलमलगायत सामग्री उपलब्ध गराएको छ ।
आर्थिक गणना २०७५ को कार्यान्वयनका निम्ति क्षमता अभिवृद्धि परियोजना सञ्चालनसम्बन्धी सम्झौतापत्रमा गत फागुनमा नै हस्ताक्षर भएको जाइकाले आज प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय आर्थिक गणना २०७५ नेपालमा पहिलो पटक हुन लागेको हो । सो गणनामा नेपालको हरेक आर्थिक क्षेत्रलाई समेटिने छ । आगामी वैशाख १ गतेदेखि ३१ गतेसम्म गणना हुने कार्यक्रम छ । (रासस)