नयाँ दिल्ली, २३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय उद्योगी र व्यापरीहलाई नेपाल लगानीको लागि उपर्युक्त देश भएको भन्दै अब निर्धक्कसँग लगानी गर्न विशेष आग्रह गरेका छन्।
शुक्रबार तीन दिने भारत भ्रमणको लागि नयाँ दिल्ली आएकै दिन ईण्डो नेपाल बिजसेनस फोरमले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
ओलीले नेपालमा बजारको समस्या नभएको विश्वास भारतीय व्यापारीहरुलाई दिलाएका छन् । यद्धपी उनले नेपालमा उत्पादनको अभाव भने भैरहेको स्पष्ट पारेका थिए ।
भारतीय उद्योग वाणिज्य संघ र चेम्बरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालले लगानीकर्ताका लागि विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरेको, भारत र नेपालले भन्सार विन्दुमा संयुक्त चेकपोस्ट निर्माण गरेको तथा नेपालमा मजदुरको लागत समेत कम रहेको भन्दै लगानीका लागि आग्रह गरेका हुन् ।
सम्बोधनको क्रममा उनले भनेका छन, ‘भारत र नेपाल पाँच ठाउँबाट रेलमार्फत् जोडिदैछन, विशेष आर्थिक क्षेत्रहरु भारतीय सीमानाबाट नजिकै निर्माण गरिएका छन्।‘
उनले जलविद्युत र कृषिमा आधारित क्षेत्रमा लगानीका लागि व्यवसायीहरुका लागि नेपालमा आउन सुझाए। भारत र नेपालबीच डबल ट्याक्सेसन मुक्तीको सम्झौता भएको तथा ट्रान्समिसन लाइन र विद्युत व्यापारको सम्झौता भएको भन्दै लगानीको उचित वातावरण रहेको विश्वास पटक पटक दिलाए ।
भारत नेपालको बीचमा सांस्कृतिक समानता रहेको भौगोलिक निकटता रहेकाले व्यवसायसमा समस्या नहुने उनको भनाई थियो। उनले भारतीय पर्यटकहरुलाई नेपाल जान समस्या नभएकाले पर्यटनमा लगानीका लागि समेत आग्रह गरे।
त्यस्तै भारतीय व्यापारीहरुले पनि नेपालमा लगानी गर्न आफूहरु तयार रहेको धारणा राखेका थिए । अधिकांश व्यापारीहरुले आफूहरु जलस्रोत, कृषि, रेल, भौतिक पूर्वाधार खासगरी सडकमा लगानी गर्न ईच्छुक रहेको बताएका थिए ।
लगानी गर्नेबारे आफूहरुलाई कुनै समस्या नरहेको धारणा राखेका थिए । तर उनीहरुले लगानीको लागि उदार नीति आवश्यक रहेको बताएका छन् ।
तीन दिने भारत भ्रमणका लागि प्रभानमन्त्री ओली आज बिहान दिल्ली पुगेका हुन्।