Logo

प्रधानमन्त्रीले कूटनीतिक क्षमता प्रदर्शन गर्न सक्नुपर्छ



दीपकुमार उपाध्याय, पूर्वराजदूत : कूटनीति भनेको जहिले पनि अत्यन्तै शान्त, मर्यादित र जनता र राष्ट्रको हितमा परिणाममुखी नै हुनुपर्छ । त्यसको लागि हामीले एउटा कला, कौशल, चातुर्यता हो त्यसमा हामी चनाखो बन्नुपर्छ ।

प्रधानमन्त्रीले कूटनीतिक क्षमता प्रदर्शन गर्न सक्नुपर्छ । उहाँले सक्नुहुन्छ । केपी ओलीभन्दा पनि अब उहाँ देशको प्रधानमन्त्री हो । अहिले उहाँलाई इतिहासले निकै ठूलो अवसर दिएको छ । यो उहाँको लागिमात्रै नभएर राष्ट्रको लागि पनि अवसर हो । उहाँले जे जति पनि नेपालको आजसम्मको अनुभव छ । ज्ञान छ । सीप छ । त्यसलाई एक ठाउँमा राखेर राष्ट्रको एउटा खास गरेर राष्ट्रिय विकासको पनि एउटा खाका तयार पार्ने र त्यसमा सबैको सहमति लिनुपर्छ । खास गरेर राष्ट्रको सुरक्षा नीतिमा, परराष्ट्र नीतिमा पनि देशभित्र नै हामीले एकदम जति सकिन्छ । बढीभन्दा बढी सहमति जुटाउने, अलिकति हल्का पारेर अरूलाई नकारात्मक पाराले नकारात्मक टीकाटिप्पणी नगरेर (कला, कौशल, चातुर्यता) देखाउनुपर्छ । उहाँले कूटनीतिक क्षमता प्रदर्शन गर्न सक्नुहुन्छ । मेरो उहाँप्रति विश्वास छ । देशले पनि सहयोग गर्नुपर्दछ । यसमा परराष्ट्रमन्त्रीको पनि भूमिका रहन्छ । प्रधानमन्त्री र परराष्ट्रमन्त्री यसमा खरो उत्रनुपर्छ ।

इतिहासले निकै ठूलो अवसर हामीलाई दिएको छ । अहिले दुवै हाम्रा मित्रराष्ट्रहरू (चीन र भारत) उदीयमान अर्थतन्त्र हुन् । दुवैको नेपालप्रति समान चासो छ । नेपालमा शान्ति होस् । समृद्धि होस् । स्थिरता होस् भन्ने नै छ । त्यसको हामीले उपयोग गर्न सक्नु पर्दछ । नेपालले अत्यन्तै सन्तुलित कूटनीतिमार्फत दुवै मित्रराष्ट्रलाई आश्वस्त पारेर, दुवैको सहयोग लिनुपर्छ । भूगोलको, इतिहासको, संस्कृति, सभ्यताको गौरवपूर्ण सम्बन्ध भारतसँग छ । त्यो अत्यन्तै सहज छ । भूगोल त हामीले आज बनाएर सजिलै बन्ने होइन । मित्रराष्ट्र चीनले कठिन भूगोल हुँदाहुँदै पनि निकै ठूलो सहयोग गरेको छ । खास गरेर नेपालको पूर्वाधार विकासमा के सहयोग चाहियो भनेर उनीहरूले भनेका छन् । यो त राम्रो अवसर हो नि । हामीले एकअर्कालाई एकअर्काको विरुद्ध नबिज्ने किसिमबाट नेपालको समृद्धिको अभियानमा सबैको सहयोग लिन हामीले सक्नुपर्दछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै खालको एउटा राजनेता हो । उहाँले नेपालको बारेमा त्यसै अहिलेसम्म आफूले चाहिँ व्यक्तिगत रूपबाट नेपाली जनताले जुन दुःख पाए (त्यो बेलामा म त प्रत्यक्ष रूपमा राजदूतकै रूपमा थिएँ) नेपाली जनताले तपाईंको प्रधानमन्त्रीत्वको कालमा दुःख पाउने ? के हो भनेर सोध्दा ? उहाँले अहिलेसम्म पब्लिक्ली बोल्नुभएको छैन । जबकि भारतको त्यही क्रियाकलापबाट नेपाली जनताले दुःख पाए । त्यसमा अहिले पनि अनुसन्धानको विषय छ । हाम्रै देशका पार्टीहरूले नाकाबन्दी हामीले गरेको पनि भनेका छन् । हामीले लगाएका हो ।

हामीले नाकामा रोकेको भन्दाभन्दै पनि त्यो एउटा हिजोको कुरा भयो । आजको दिनमा अब नेपाललाई कसरी सहयोग गर्न सकिन्छ ? यत्रो सहज भूगोल हुँदाहुँदै पनि नेपालका हुलाकी सडकहरूदेखि लिएर नेपालका पूर्वाधारमा, रेलका विकासमा, र अरू विकासमा योजनाहरू किन समयमै सम्पन्न हुन सकेनन् । त्यो बारेमा चिन्तन त मोदीजीलाई पनि छ । नेपाली र भारतीयहरू प्नि आज सबैभन्दा ठूलो विश्वास भनेको मानवस्रोत नै हो । हाम्रो पाखुरा जत्तिको बलियो र भरपर्दो केही हुँदैन । त्यो हामीले नेपालको हितमा प्रयोग गर्न नसकेर बिदेसिएका छन् । त्यसलाई कसरी रोक्ने ? कसरी सीप विकास गर्ने ? भन्नेबारेमा हामीले भारतको पनि एउटा नयाँ सोचको, सफलताका कुराहरूलाई हामीले यहाँ रूपान्तरण गर्न सक्छौं । चीनले पनि त्यत्तिकै प्रगति गरेको छ । चीनको प्रगतिलाई पनि खास गरेर प्रविधिमा चीनले मारेको छलाङलाई हामीले उपयोग गर्न सक्नुपर्छ । समयले निकै ठूलो जिम्मेवारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्