Logo

भारतका प्रधानमन्त्रीले नेपालमा चिनिया लगानीको विरोध गर्दैनन् : अशोक मेहेता



चैत २४, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिचको वान टु वान वार्तामा के कुरा भयो भन्ने विषय खुलस्त पारिएको छैन ।

भेटपछि प्रधानमन्त्री ओलीले दुई देशको हितमा हुने गरी उपलब्धिमुलक छलफल भएको जानकारी दिएका थिए । तर कतिपयले भने भारतीय प्रधानमन्त्री मोदीले नेपालमा चिनिया लगानी बढाउन नदिन आग्रह गरेको आशंका गरेको पाइयो ।

यस विषयमा भारतका पूर्व मेजर जनरल अशोक मेहेतासँग ऋषि धमलाले कुराकानी गरेका थिए । मोदीले नेपालमा चिनिया लगानी रोक्नका लागि कुनै आग्रह नगरेको दाबी मेहेताले गरे ।

“मेरो विचारमा भारतको प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई तिमी चिनसँग नमिल्नु भनेर कहिल्यै पनि भन्दैनन् । नेपालमा चिनिया लगानी आउँदा भारतलाई कुनै आपत्ति छैन ।”

नेपाल–भारत सम्बन्धबारे जानकार मानिने मेहेताले चिन र भारतबिचको सुरक्षा मामलामा मात्रै भारत सरकारको चासो रहेको उल्लेख गर्दै नेपाल र चिनिया सुरक्षानिकायबिच नियन्त्रित सम्बन्ध हुनुपर्ने बताए ।

भारतीय प्रधानमन्त्री मोदीले केपी ओलीलाई तीनपटकसम्म फोन गरेर कुराकानी गर्नु निकै महत्वपूर्ण रहेको बताउँदै मेहेताले ओली–मोदीबिचको सम्बन्ध राम्रो भएको बताए ।

नेपालका प्रधानमन्त्रीको पहिलो भ्रमण भारत हुने कुरा परम्परा भइसकेको बताउँदै मेहेताले ओलीको भारत भ्रमणले सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गरे । तर भारतीयहरुले प्रधानमन्त्री ओलीलाई प्रो चाइनिजको रुपमा लिने गरेको बताउँदै भारतको निन्दा गरेकाले ओलीले चुनाव जितेको दाबी गरे ।

“अहिले जसले भारतको निन्दा गर्छ, उसैले नेपालमा भोट पाउँछ । यो सत्य कुरा हो । तर चुनाव जितेर प्रधानमन्त्री ओलीलाई भारतले निमन्त्रण गरेर ठूलो दिल देखायो ।” मेहेताले भने ।



प्रतिक्रिया दिनुहोस्