चैत २४, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा भारत पुगेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले भारतीय लगानीकर्ताले नेपालको पूर्वाधार, जलविद्युत र कृषि क्षेत्रमा लगानी गर्न चाहेको बताएका छन् ।
प्रधानमन्त्री ओली र भारतीय लगानीकर्ताबिचको छलफलमा उनीहरुले उदारवादी नीतिमार्फत नेपालमा लगानी गर्न चाहेको कुरा ओलीसमक्ष राखेको राजकर्णिकारले बताए ।
ऋषि धमलासँग कुरा गर्दै उनले भारतीय लगानीकर्ता नेपालमा आउन इच्छुक भएपनि नेपालको संविधान नै बाधक हुनसक्ने आशंका व्यक्त गरे ।
“भारत पूर्ण रुपमा उदारबजार अर्थतन्त्रमा उन्मुख भएको पाईयो । तर नेपालको संविधानमा नै मिश्रित अर्थतन्त्र, समाजवाद उन्मुख भनिएको छ । त्यसले गर्दा लगानीका लागि पर्याप्त छ कि छैन भन्ने आशंका उब्जियो ।” उनले भने ।
भारतका निजी क्षेत्रका लगानीकर्तासँगको छलफलमा प्रधानमन्त्री ओलीले लगानीका लागि आश्वस्त पार्ने प्रयास गरे पनि संविधानमा उल्लेख गरिएको समाजवादउन्मुख अर्थतन्त्रका कारण पर्याप्त हुन नसक्ने राजकर्णिकारले बताए ।
नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि अर्थतन्त्रलाई कसरी खुला गरेर लैजाने भन्ने विषय सैद्धान्तिक चुनौतिको रुपमा देखिएको उनले बताए ।
सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा भारतीय लगानी भित्र्याउने वातावरण बनाउन जरुरी रहेको राजकर्णिकारले औँल्याए ।