Logo

मोदीको सम्बोधनसँगै नेपाल-भारत सम्बन्धमा आईसब्रेक : भारतीय नेताहरु



काठमाडौं, २४ चैत्र । भारतीय नेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधनलाई ऐतिहाँसिक र नेपाल-भारत सम्बन्धमा उनको सम्बोधन आईसब्रेक भएको बताएका छन् ।

दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने आफूहरुको चाहना रहेको बताएका छन् ।

सम्बोधनको क्रममा मोदीले आफू र ओलीको विकास अभियानसम्बन्धी भिजन एकै प्रकारको रहेको बताएका थिए । मोदीले सगरमाथाको देशलाई सागरसँग जोडिने बताए । त्यसैगरी काठमाडौंलाई रेलले भारतसँग जोड्नेसमेत बताएका थिए ।

सम्बोधनको क्रममा ‘हामी एउटा नमुना सम्बन्ध विकास गर्न चाहन्छौं, जसले दुबै देशको समृद्धि सँगसँगै हुनेछ’ प्रधानमन्त्री ओलीले भनेका छन् । उनले समृद्धि नेपाल र भारतको संयुक्त एजेण्डा भएको पनि बताएका थिए ।

मोदीको सम्बोधनपछि नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा भारतीय नेताहरुले संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल र नेपालीहरुको मन जितेको बताए ।

भारतका पेट्रोलियम एवम् नेचुरल ग्याँसमन्त्री धर्मेन्द्र प्रधानले धमलासँगको कुराकानीमा भने,“मोदीजीले नेपालीहरुको मन जितेका छन्, उहाँले नेपालको विकासमा भारतले हरतरहाको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। यो खुशीको कुरा हो।”

भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि मोदीले नेपालको विकासप्रति चिन्ता लिनुभएको बताए । उनले भने,“उहाँको एकमात्रै चिन्ता भनेको नेपाल र नेपालीहरुको विकास चाँडै होस् भन्ने नै छ, नेपालको समृद्धिको यात्रामा भारतको बलियो साथ रहने कुरा मोदीजीले बताउनुभयो, यो सुखद् पक्ष हो।”

ओलीको भारत भ्रमणसँगै नेपाल र भारतबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ । मन्त्री सिंहले थपे,“मोदीको साथ नेपालतिर छ, उहाँको सम्बोधनपति म उत्साहित भएँ । मोदीको भाषण नेपाल भारत सम्बन्धको लागि आईसब्रेक भयो ।”

त्यस्तै कन्जुमर अफेयर्स मन्त्री रामभिलास पासवानलेपनि मोदीको आजको सम्बोधनलाई ऐतिहाँसिक भएको बताउँदै मोदीले नेपालीहरुको मन जितेको विश्वास दिलाए । पासमानले आजको सम्बोधनसँगै नेपाल र भारतबीचको रहेका सबैखाले अविश्वास हटेको दाबी गरे ।

त्यस्तै अर्थमन्त्री अरुण जेट्लीले पनि भारतले नेपालको आर्थिक विकासमा दिल खोलेर सहयोग पुर्याउने बताउँदै मोदीको आजको सम्बोधनलेपनि त्यही मार्गदर्शन गरेको सुनाए ।

भारतीय सत्तारुढ दलमात्रै नभएर प्रतिपक्षी दल कंग्रेस आईका नेताहरुलेपनि आज मोदकिो सम्बोधनको खुलेरै प्रशंसा गरे । नेता मणिशंकर ऐरले पनि मोदीले राम्रो बोलेको बताए । नेपालमा अब विकास र समृद्धिको बारी आउने उनको विश्वास छ ।

अर्का नेता डा. करण सिंहले पनि मोदीले आज एकदम राम्रो बोलेको सुनाए । धमलासँगको संक्षिप्त कुराकानीमा सिंहले भने,“मोदीजीले साँच्चिकै आज धेरै राम्रो बोल्नुभयो, दुई देशबीचको सम्बन्धलाई सही ढंगले अघि बढाउने उहाँको स्पिरिट छ, यसलाई आगामी दिनमा अझै मजबुद बनाउँदै लानुपर्छ ।”
त्यस्तै भाकपा माक्र्सवादीका महाचिव सिताराम यचुरीले पनि मोदीले बोलेको कुरा व्यवहारमा उतार्न सके द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थपिने विश्वास दिलाए ।

 



प्रतिक्रिया दिनुहोस्