काठमाडौं २५ चैत । नेपालका गण्डकी, कोसी र कर्णाली नदीबाट पानीजहाज चलाउन सकिने सम्भावना देखिएको छ । भारत र नेपालबीच शनिबार भएको इनल्यान्ड वाटरवेजको माध्यमबाट नयाँ कनेक्टिभिटीको सम्झौताअनुसार यी तीनवटै नदी भारतको गंगामा गएर मिसिने भएकाले यिनै नदीमा जहाज चलाउन सकिन्छ ।
भारतले गण्डकी नदी गएर मिसिने गंगाको कालुघाटमा पानीजहाजको निम्ति आवश्यक संरचना बनाइरहेको छ । यो स्थानमा भारतले दुई हजार टनसम्मका जहाज ल्याउने र सोही स्थानबाट नेपालले ४/५ सय टनसम्मको पानी जहाज छिराउन सक्ने जल तथा उर्जा आयोगका पूर्वसहसचिव केशवध्वज अधिकारीले जानकारी दिए ।
उनका अनुसार कालुघाट सिमाबाट दुईसय किमिभित्रै पर्ने र यो स्थान तत्कालका निम्ति पानी जहाज चलाउने गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । यो स्थानको प्रयोग गरेर र आवश्यक संरचना बनाएर नेपालले पनि सिमानासम्म जहाज ल्याउन सक्छ ।
पानीजहाज चलाउन पानीको गहिराई मापन गर्नुपर्ने, नेपालले पनि नदी किनारसम्म सडक वा रेलको पूर्वाधार पुर्याउने काम गर्नुपर्छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट