डा. दुर्गेशमान सिंह, पूर्वराजदूत : समृद्धिको लागि मुख्य दुई आधार हुनुपर्छ । एउटा कूटनीति हाम्रो अहिले नेपालको परिप्रेक्ष्यमा आज देशको राजनीतिक अस्तित्वको निम्ति २०१२ सालदेखिको (राजा महेन्द्रको राज्यारोहण भएको दिनदेखि) हामीले पार गरिसकेका छौं । नेपालको अस्तित्व, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनको लागि हामीले राजा महेन्द्रको पालामा त्यो गरिसकेका छौं । हामीले त्यो अवस्था पार गरिसकेका छौं । तर, त्यसको लागि एकताबद्ध रूपमा हामीले आर्थिक कूटनीतिलाई बढावा दिनुपर्छ । हामी बढी केन्द्रित हुने विषय भनेको आर्थिक कूटनीति नै हो । नेपालको वास्तविकता नै यही हो । किनकि हामीले अस्तित्वको बोध पार गरिसकेका छौं । नेपालको आर्थिक विकासको निम्ति आर्थिक परिचालनको निम्ति हामीले त्यसलाई सुहाउने किसिमले अघि बढाउनुपर्छ । आर्थिक विकासको लागि हामीले आफ्नो आवश्यकताअनुसार भारत, चीन, अमेरिकालगायतका अन्य अन्तर्राष्ट्रिय शक्तिहरूसँग आफ्नो आर्थिक परिचालन गर्नुपर्छ ।
भारत र चीनबीच जे जस्ता विवाद भए पनि उनीहरूबीचको आपसी समृद्धि अघि बढिरहेको छ । करिब एक अर्ब डलरको टार्गेट लिएर उनीहरूबीच व्यापार अघि बढिरहेको छ । हामीले पनि त्यसमा सहभागिता हुनुपर्छ । नेपालको रोल त्यसमा हुनुपर्छ । दुई देशबीचको असमझदारी हुँदा पनि आर्थिक साझेदारी अघि बढाउनुपर्छ भन्ने उनीहरूको विशिष्ट सम्बन्ध छ । राजनीतिक हिसाबले हिजोसम्म तिब्बत अति नै संवेदनशील क्षेत्र थियो । चीनको अहिलेको पोलिसी नै ‘गो वेस्ट’ भन्ने छ । आजसम्म जति पनि समृद्धि चीनमा भएको थियो, त्यो पूर्वी भागमा थियो ।
अहिले उनीहरूले विकासको धारलाई परिर्वतन गरेर हिजोसम्म बेवास्ता गरिएको क्षेत्र तिब्बतलाई चीनले विकासको नयाँ आयामहरू थपेको छ । कुनमिङलाई त अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउन छुट दिएको छ । तिब्बतमा चीनको ध्यान केन्द्रित भएसँगै उनीहरूको आँखा यूपी र बिहारतिर पुगेको छ । किनकि यूपीमा ८० करोड जनसंख्या छ । व्यापारले त जहाँ बजार छ, त्यहाँ जान्छ । नेपालले अब भारत र चीनबीच पुलको सम्बन्ध अघि बढाउनुपर्छ । अहिले समय आएको छ । हाम्रो नेतृत्व वर्गले अब कसरी अवलम्बन गर्ने भन्ने कुरा हो । यसमा अत्यन्तै सुझबुझ देखाउनुपर्छ । विकासको कुरा गर्दा भारतको बिहार अहिले जागरुक भएको छ । काठमाडौंमा पनि धेरै वैभव थियो । आजभन्दा धेरै पहिले पनि भारत र तिब्बतको एन्टरपोट ट्रेड काठमाडौंमा थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली एक्लै केही पनि होइन । उहाँको टिममा भरपर्ने कुरा हो । नेता भनेको त प्रतिनिधिमात्रै हो । उसको टिम कस्तो छ भन्ने कुरा नै महत्वपूर्ण हो भनेजस्तै । मेरो विचारमा अहिलेको प्रधानमन्त्री ओलीले लिनुभएको भिजन धेरै राम्रो छ । भिजन पूरा गर्न अब टिमको पनि भूमिका महत्वपूर्ण हुन्छ । उहाँले आश्चर्यचकित रूपमा दुई तिहाइको सरकार बनाएर जनतालाई खोजेको कुरा दिनुभएको छ । मुलुकमा स्थायित्व नभएको बेला उहाँको यो तरिका धेरै प्रशंसनीय छ ।
नेपाल धेरै संवेदनशील र सम्भावना भएको ठाउँमा छ । चलायमान दुई ठूला अर्थतन्त्र भारत र चीनको बीचमा हामी छौं । २१ औं शताब्दी भनेको एसियन एज हो । ठूलाठूला विद्वानहरूले पनि यो कुरा फुकिसकेका छन् । नेपालमा रेल ल्याउन भारत र चीन दुवैको इन्ट्रेस्ट छ । पूर्वाधार विकासमा हामीले जोड दिनुपर्छ । चीन र भारत जोड्ने पूर्वाधारमा हामीले विशेष ध्यान दिनुपर्छ । चीनको ओबोर प्रोजेक्ट छ । पर्यटन हाम्रो लागि अत्यन्तै पोटेन्सियल छ । भारत र चीनबाट ठूलो मात्रामा पर्यटक नेपाल ल्याउन सक्नुपर्छ । निजगढ र भैरहवाको विमानस्थल चाँडै बनाउनुपर्छ । यो बनाउन सकियो भने पर्यटन क्षेत्र चलायमान हुन्छ । अर्को भनेको हिमाल हो । प्रकृतिले हामीलाई बोनस दिएको दुईवटा चीज हो । एउटा हिमाल, र अर्को बुद्ध । नेपालले धान्न नसक्ने वैभव प्राप्त हुन्छ । नेपालको आफ्नो ध्येय बलियो हुनुपर्छ । विदेशीहरूको दृष्टिकोण पनि अनि आउँछ । अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पार्ने प्याकेज हामीले ल्याउनुपर्छ । पूर्वाधार विकासमा दुवै छिमेकीहरूको सहभागिता खोज्नुपर्छ ।
जहाँसम्म भारतसँगको सम्बन्धको विषय आउँछ तब राजनीतिक तहको सम्बन्धको विषय महत्वका साथ आउँछ । सम्बन्धमा सबैले राष्ट्रिय हितमा ध्यान दिने हो मोदी भनेको एउटा व्यक्ति होइन । ओली पनि एउटा व्यक्ति होइन । मोदी नेपाल आउँदा धर्मकर्म आउने होइन । नेपालको प्रधानमन्त्री पनि भारत जाँदा आफ्नो स्वार्थ हेर्ने हो । जनताले अहिले स्थायित्व खोजेका छन् । जुन पार्टी सरकारमा आए पनि जनताले खोज्ने भनेको समृद्धि हो । स्थायित्व हो । त्यतातिर ध्यान दिनुपर्छ । आफू बलियो हुनुपर्छ । जति हामी स्थिर, एकता र बलियो हुन्छौं त्यति नै सहयोग र समर्थन हुन्छ ।
०००