चैत २८, काठमाण्डौ । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रम र बजेट नभैकन काम गर्न नसकिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै राउतले सरकार चलाउनका लागि नीति, नियम, ऐन चाहिने भन्दै अहिले केही पनि नभएकाले काम गर्न नसकिएको बताए ।
प्रदेश नम्बर दुईको सरकारले जनताका माग सम्बोधन हुने गरी नीति तथा कार्यक्रम ल्याउन लागिएको जानकारी दिदै राउतले भएका साधन र स्रोतको सदुपयोग गर्दै काम अगाडि बढाइने बताए ।
प्रदेश दम्बर दुईमा शिक्षा, स्वास्थ्य, सडक, कृषि जस्ता महत्वपूर्ण क्षेत्रको अवस्था निकै दयनीय भएको भन्दै राउतले विगतमा केन्द्र सरकारले वेवास्ता गरेका कारण उक्त प्रदेश कमजोर भएको बताए ।
आफूसँग जादुको छडी नभए पनि सम्भव भएसम्म काम गर्ने राउतले भने । तर अहिले काम गर्ने वातावरण नभएको भन्दै उनले बस्ने ठाउँसमेत नभएको बताए ।
“मुख्यमन्त्रीलाई काम गर्ने वातावरण दिनुपर्दैन । बस्ने ठाउँ चाहिदैन । रोडमा बसेर ठेकेदारले जस्तो काम गर्न सकिन्छ ?” राउतले प्रश्न गरे ।
केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको र कानमा तेल हालेर बसेको उनको आरोप छ ।
काम गर्न अप्ठ्यारो भएको विषय केन्द्र सरकारलाई पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको उनको गुनासो छ ।