सिवी अधिकारी : मेलम्ची, १ वैशाख : “काठमाडौँका जनतालाई पानी खुवाउनु हाम्रो सौभाग्य हो र यो गौरबको विषय पनि हो” करेसाको मेलम्ची खोलामा बगेको कलकल पानीतर्फ नजर तेस्याउँदै गहकिलो भावमा स्थानीय चन्द्रबहादुर थापाले भन्नुभयो ।
मेलम्चीको पानी पिउने उत्कृष्ट अभिलासामा रहेका काठमाडौँ उपत्यकावासी जति लालाहित छन्, उत्तिकै गर्व गर्छन् पानी पठाउन पाएकोमा मेलम्चीवासी ।
पुर्खादेखिको सांस्कृतिक रहनसहन र जीवनयापनसँग जोडिएको प्रकृतिको अनुपम उपहार मेलम्ची खोलाको कञ्चन पानी राजधानीका जनतालाई पठाउन पाएकोमा उनीहरु निकै गर्व गर्छन्, सँगै जीवनमा महत्वपूर्ण वस्तुको अभाव पनि महसुस भइरहेको ठान्छन् ।
“मेलम्ची खानेपानी आयोजनाको सुरुङ छिचोलिनु (‘ब्रेक थु्र’) हुनु एउटा गौरबको विषय हो यसमा काठमाडौँका जनता खुशीको क्षणमा छन् सिन्धुपाल्चोक र मेलम्चीका हामीसबै नागरिक पनि खुशी भएका छौँ, वास्तवमा काठमाडौँवासीलाई पानी खुवाउने शौभाग्य निकै गौरवको विषय बनिरहेको छ,”–उहाँले भन्नुभयो ।
सुरुङको पहिलो चरणको काम सकिए पनि बाँकी महत्वपूर्ण कामलाई सफलतापूर्वक सम्पन्न गर्न निकै लामो समय लाग्ने हुँदा सबैले सजकताका साथ जतिसक्दो चाँडो काठमाडौँ पानी पठाउनुपर्ने थापाले बताउनुभयो ।
काठमाडौँमा पानी गइसकेपछि यहाँ पर्ने वातावरीण प्रभाव, सिँचाइमा असर, स्थानीय घट्टदेखि माछापालन व्यवसायलगायत विषयको वातावरणीय र पर्यावरणीय असरको न्यूनीकरणका लागि सरकारले राजश्वको रुपमा केही सुविधा दिनुपर्ने स्थानीयको धारणा छ ।
इन्द्रावती गाउँपालिका–७ का इच्छाराम सापकोटा लामो समयदेखिको सरकारी आयोजना पूरा भएकोमा खुशी हुनुहुन्छ, तर काठमाडौँ पानी पठाएपछि खेतीपाती गर्न समस्या हुने होकी भन्ने चिन्ताले सताएको छ । स्थानीय हरि तिमल्सिना पनि काठमाडौँका जनताले पानी पिउन पाउनु निकै ठूलो धर्म ठान्नुहुन्छ । पानी काठमाडौँ लागिदा प्रभावित क्षेत्रको उचित व्यवस्थापन हुनुपर्ने उहाँको भनाइ छ ।
“खोला आसपासका खेती बाँजो हुनेभयो, खोलासँग जोडिएका पेशा व्यवसाय पलायनको अवस्था आउने हुनसक्छ, त्यसैले खोलाको यथोचित व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्छ,”– उहाँले भन्नुभयो ।
सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मेलम्ची आयोजनालाई बेहुली अन्माउने तयारीमा रहेको संज्ञा दिँदै बेहुलालाई बेउलीप्रति हेर्ने दृष्टिकोण कस्तो रहन्छ त्यसको प्रतीक्षामा रहेको टिप्पणी गर्नुभयो ।
खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाको सुरुङ खन्ने महत्वपूर्ण चरण सकिएको र दशैँअघि राजधानीवासीले पानी उपयोग गर्न पाउने बताउनुभयो । उहाँले आयोजनाको बाँकी कामलाई समन्वयका साथ थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७ दशमलव ४ किमी सुरुङखण्डको मध्यभागको गत चैत २९ गते ब्रेक थु्र भएसँगै झण्डै दुई दशकपछि मेलम्चीको पानी पिउने काकाकुल काठमाडौँको सपना अब चाँडै साकार हँुदैछ । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्रु’ भएको घोषणा गर्नुभएको थियो ।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाका अनुसार २७ दशमलव ५ किलोमिटरको सुरुङमध्येको काठमाडौँको सुन्दरीजलदेखि पानीको मुहान सिन्धुपाल्चोक जिल्लाको अम्बाथानसम्म जम्मा चार किलोमिटर सुरुङको मात्र ‘फिनिसिङ’ सम्पन्न भएको र अझै २३ दशमलव ५ किलोमिटर ‘फिनिसिङ’ गर्न बाँकी रहेको छ ।
उहाँले सिन्धु अडिटदेखि ग्याल्थुमसम्मको सुरुङ जोड्ने काम सम्पन्न भएको र योजना सम्झौताअनुरूप काम अगाडि बढेमा अबको चार महिनाभित्र (आउँदो भदौसम्म) मा सुन्दरीजलमा पानी खसाल्ने बताउनुभयो ।
आयोजनाको मुख्य लगानीकर्ता एशियाली विकास बैंक (एडिबी) का दक्षिण एशिया महानिर्देशक हुन किमले नेपालको सबैभन्दा लामो सुरुङ छिचोलिएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सुरुङ खन्ने काम पूरा हुनु आयोजनाको इतिहासमा ज्यादै महत्वको कोशेढुंगा हो भन्नुभयो ।
उहाँले आयोजनाबाट चाँडै नै काठमाडौँ उपत्यकाका बासिन्दाले ब्याहोरिरहेको खानेपानी समस्या कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्दै आयोजना सफल कार्यान्वयनका लागि नेपाल सरकारले देखाएको दृढ प्रतिबद्धताको सराहना गर्नुभयो ।
हेल्मो गाउँपालिका समितिका अध्यक्ष उपेन्द्र तामाङले सुरुङ सम्पन्न भए पनि मेलम्ची आयोजनाले स्थानीय प्रभावित जनतासँग समन्वय नगरेको भन्दै पानी काठमाडौँ लैजान कठिनाइ हुने बताउनुभयो ।
उहाँले स्थानीय जनताको अधिकार र मागलाई सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । मुख्य सुरुङ २६ र अडिट एक दशमलव पाँच गरी जम्मा २७ दशमलव ५ किलोमिटरको सुरुङबाट मेलम्ची खानेपानी आयोजनाले करीब १३ लाख उपत्यकाका बासिन्दालाई अरु बढी विश्वसनीय र उच्च गुणस्तरीय खानेपानी आपूर्ति गर्ने योजना लिएको छ । उपत्यकामा दैनिक १७ करोड लिटर खानेपानी उपलब्ध गराइनेछ ।
करीब रु २७ अर्बको लागतमा निर्माणाधिन उक्त आयोजनामा एशियाली विकास बैंकको झण्डै ८० प्रतिशत लगानीे छ । (रासस)