Logo

उद्योगमा बम आक्रमण, १० करोड क्षति



काभ्रे, २ वैशाख । काभ्रेस्थित रोडाढुङ्गा उद्योगमाथि अज्ञात समूहले आक्रमण गरेको छ । नवबुद्ध नगरपालिकाको चौकीडाँडास्थित ब्लु साइन रोडाढुङ्गा उद्योगमा उक्त समूहले वैशाख १ गते विहान बम बिष्फोष्ट गराएर उद्योगको मेशिन र सवारी साधन आगजनी गरिदिएको हो । हातहतियारसहित आएकाहरूले उद्योगमा रहेका केही मजदूर र सुरक्षागार्डहरूलाई बाहिर निकालेर बिष्फोट गराएका थिए ।

बम बिष्फोटमा क्रसर मेशिन, तीन वटा स्काइभेटेर र ट्रिपरहरूमा गम्भीर क्षति पुगे छ । लामो समयसम्मको बिष्फोटबाट वरपरका जनता समेत त्रसित भएका थिए । बम बिष्फोटपछि आगलागी भएको थियो ।

घटना पछि बम डिस्पोजल टोलिसहित नेपाली सेनाको टोली समेत पुगेको थियो । नेपाल प्रहरीको टोलीले घटनाबारे छानबिन गरेर घटनास्थललाई नियन्त्रणमा लिएको थियो ।

देशमा लगानीको वातावरण र उद्योगधन्दा संचालनमा जोड दिदै सरकारले समृद्धिको अभियान चलाइरहँदा नयाँ वर्षको नयाँ विहानी नहुँदै भएको घटनालाई गम्भीर रूपमा लिइएको छ । घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । चन्दा आतंक मच्चाएका सशस्त्र समूह वा उग्र नारासहित धम्कीको भाषा बोल्दै आएकाहरू घटनामा संलग्न हुनसक्ने प्रहरीको आशंका रहेको बुझिएको छ ।

उद्योगका संचालक विश्वास कार्कीले आक्रमणबाट दश करोडको क्षति भएको बताए । आफूहरूलाई कसैले पनि कुनै किसिमको धम्की नदिएको र अचानक आक्रमण हुँदा आश्चर्यचकित भएको बताए । उनले भने,‛रोजगारी सृजना गरी राज्यलाई कर तिर्ने उद्योगी व्यवसायीले सुरक्षाको अनुभूति गर्न नपाए कसरी काम गर्ने ?’ राज्यले सुरक्षा दिन नसके देशमा उद्योगधन्दा संचालन गर्न खोज्नेहरू निरुत्साहित हुने भन्दै त्यसमा ध्यान दिन माग गरे ।

रोडाढुङ्गा उद्योगले तिव्र गतिमा भइरहेको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । यस्ता उद्योगहरू चन्दा आतंक मच्चाउने समूहहरूको तारोमा पर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्