Logo

६३ जना मात्रै सासंद छन् भनेर प्रतिपक्षीलाई नहेप्न खड्काको सरकारलाई चेतावनी



वैशाख २, काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा सासंद डा. नारायण खड्काले अहिलेको सरकारले जोसिला र महत्वाकांक्षी योजना बनाएको भन्दै त्यसलाई पूरा गर्न सुझाब दिए ।

 

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सरकारले राम्रा काम गर्नका लागि दुई तिहाई भएर मात्रै नहुने भन्दै हरेक क्षेत्रलाई सन्तुलित रुपमा राख्न सक्नुपर्ने खड्काले बताए ।

“राजनीतिक स्थायित्व र दुई तिहाईले मात्रै हुँदैन । आर्थिक, सामाजिक, कुटनीतिक लगायतका पक्ष सन्तुलित हुनुपर्छ । दुई तिहाईको अभिमानले सन्तुलन विग्रेला ।” खड्काले सचेत गराए ।

प्रमुख प्रतिपक्ष दलमा ६३ जना मात्रै सासंद छन् भनेर नहेप्न खड्काले सरकारलाई चेतावनीसमेत दिए । प्रतिपक्षसँग मिलेर जाने भनिए पनि पहिलेको सरकाले गरेका निर्णय उल्ट्याउने चर्चा चलेको भन्दै खड्काले त्यसो नगर्न आग्रह गरे ।

“यो सरकार लोकतन्त्रप्रति कति प्रतिवद्ध छ हामी हेर्छौँ । दुई तिहाईको दम्ब देखिने गरी राष्ट्रहित विपरितका काम हुन थाले भने हामी चुप लागेर बस्दैनौँ । प्रतिपक्षमा ६३ जना छन् भनेर सोही अनुसार व्यवहार गरियो भने कांग्रेसको लाखौँ क्रियाशिल सदस्य चुप लागेर बस्दैनन् ।” खड्काले भने ।

अहिलेको सरकारको विरोध वा समर्थन गर्ने बेला आइनसकेको भन्दै खड्काले केही काम भने राम्रो भएको बताए । पूर्व भिआइपीहरुलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाउने सरकारको निर्णय स्वागतयोग्य भएको भन्दै खड्काले प्रशंसा गरे ।

तर कृषिमा निर्भर नागरिकको संख्या घटाउने, कृषि उत्पादन चार गुणा बढाउने भन्ने जस्ता प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धता हचुवाको भरमा ल्याइएको खड्काको भनाई छ ।

“कृषिमा निर्भर जनताको संख्या घटाएर ति जनतालाई केमा लगाउने ? पाँच वर्षमा नै कृषि उत्पादन चार गुणा कसरी बढ्छ ?” खड्काले प्रश्न गरे ।

शनिवार प्रधानमन्त्री ओलीले गरेको विशेष सम्बोधनमा कृषि प्रधान देशलाई कृषि सवल देश बनाउने, कृषिमा निर्भर जनसंख्या ५ वर्षमा २५ प्रतिशतमा सीमित गर्ने, कृषि उत्पादकत्व ५ वर्षभित्र चारगुणा बढाउने र राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान २० देखि २५ प्रतिशतमा सीमित गर्ने लगायतका कुरा समावेश थियो ।



प्रतिक्रिया दिनुहोस्