रौतहट, ३ बैशाख -गडीमाई नगरपालिका–१ का जनकधारी साह ७० वर्षका भए । साहले जीवनमा धेरै अनुभव बटुले, कमै मात्र स्मरणीय छन् । ७० वर्षको उमेरमा साहकै भाषामा ‘तीन दिनअघि हालसम्मकै घतलाग्दो अनुभव’ रह्यो । घरसँगै जोडिएको पक्की शौचालयमा छिरेर उनले पहिलोपटक शौच गरे ।
शौचालय गर्न ३ दिन अघिसम्म बाग्मती नदीको किनारामा धाउने साह रौतहटका एक्ला होइनन् । जिल्लामा अझै पनि शौचालय प्रयोग र पहँुचको अवस्था नाजुक छ ।
वृद्ध अवस्थामा पुगेपछि बल्ल उनले घरको झ्यालसँगै जोडेर शौचालय बनाएका छन् । सरसफाइ अभियानकर्ताहरूको प्रेरणाले नै शौचालय बनाएको उनी बताउँछन् । ‘घर मे सेप्टी बनाके बहुत फाइदा मिलल, ताकि बाहर जाएके झन्झट मुक्त होगैल बा,’ साहले मातृभाषा बज्जिकामा भने ।
यो उमेरमा आएर उनमा शौचालय बनाउनुपर्ने ज्ञान मात्र छैनन्, सरकारको अनुदानको आँखा ताक्नु राम्रो होइन भन्ने पनि सिके । त्यसैले गाउँमा शौचालय निर्माण अभियानमा जोडिएर उनले आफ्नैखर्चमा बनाए ।
यतिबेला गाउँमा शौचालय बनाउने अभियान नै चलेको छ, राजधानी दैनिकमा खबर छ ।