Logo

‘मेलमिलाप र भातृत्वका लागि खेलकूद’ : सभामुख महरा



रोल्पा, ६ वैशाख : सभामुख कृष्णबहादुर महराले मेलमिलाप र भातृत्वका लागि खेलकूद जरुरी रहेको बताउनुभएको छ ।

रोल्पा नगरपालिकाले आयोजना गरेको मेयर कप खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले देशको विकास र समृद्धिका लागि स्वस्थ र अनुशासित नागरिकको जरुरी रहेको बताउनुभयो । सभामुख महराले आजै परिवर्तन गाउँपालिकाले रांसीमा आयोजना गरेको अध्यक्ष कप खेलकूद प्रतियोगिताको समेत उद्घाटन गर्नुभएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड बालकल्याणलाई

दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बालकल्याण नमूना मावि लिवाङले ३३ स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको छ । चवालीस स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा जनज्योति मावि गजुल आठ स्वर्णसहित दोस्रो र दहवन मावि एक स्वर्णसहित तेस्रो भएका छन् । प्रतियोगितामा हरिगाउँले माविले समेत एक स्वर्ण प्राप्त गरेको छ ।

यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजय हासिल गरेसँगै बालकल्याण नमूना माविको विजय यात्राले लगातार पाँचौ वर्षमा पनि निरन्तरता पाएको विद्यालयका प्राचार्य मधुुसूदन पोख्रेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा एथलेटिक्समा २६, करातेमा आठ, तेक्वाण्दोमा छ, भलिबल र कबड्डीमा दुई÷दुई गरी ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको जिल्ला खेलकूद विकास समितिका एथलेटिक्स प्रशिक्षक हरिश वलीले जानकारी दिनुभयो । जिल्लामा रहेका ७४ मध्ये १६ सामुदायिक माध्यमिक विद्यालयले मात्र प्रतियोगितामा भाग लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्