वैशाख १२, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक अन्तिम चरणमा पुगेको छ । मंगलबार गगन थापा, चन्द्र भण्डारीलगायतका युवा नेताहरुले ५१ पन्ने दस्तावेज पेश गरेपछि बल्ल ‘गहिरो बहस’ सुरु भएको छ ।
निर्वाचन समीक्षा र आगामी कार्य्दिशा नाम दिइएको प्रतिवेदनमा चुनाव हार मात्र होइन, समग्र कांग्रेसकै समीक्षा गर्न खोजिएको छ ।
हामी कहाँकहाँ चुन्यौं ? भन्दै दस्तावेजमा २०४८ देखि २०७४ सम्मको समीक्षा गरिएको छ । यहाँ सरकार सञ्चालनको कमजोरीदेखि सामाजिक राजनीतिक सम्वाद टुटेको र आर्थिक नीति र पार्टी सञ्चालनमा देखिएको कमजोरीलाई केलाइएको छ ।
साथै विश्वभर कम्युनिष्ट लोप हुँदै गर्दा त्यही अवधिमा नेपालमा बढेको तथ्य प्रस्तुत गर्दै युवा नेताहरुले यस्तो किन भयो भन्ने उत्तर खोज्ने प्रयास गरेका छन् ।
युवा नेताहरुको समुहमा नजोडिएका तर प्रभावशाली युवा नेता रामहरी खतिवडाले इतिहासमै कांग्रेस कमजोर भएको तर सभापति शेरबहादुर देउवा कमजोर हो वा होइन भन्नेतिर आफू नलागेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खतिवडाले अबको पाँच वर्षमा कांग्रेसलाई पहिलो र जनताको प्रिय पार्टीका रुपमा स्थापित गराउन सबै सक्रिय हुनुपर्ने बताए ।
कांग्रेस कमजोर भएका बेला गुट उपगुटको राजनीतिले अझै कमजोर बनाउन नहुने खतिवडाले बताए ।
“कांग्रेसलाई नाङ्गै बनाउने होइन, बचाउनेतिर लाग्नुपर्छ । जाजल्यमान बनाउनुपर्छ ।” उनले भने ।
गगन थापाले प्रस्तुत गरेको दस्ताबेजको बारेमा खतिवडाले घुमाउरो पारामा विमति जनाए । “गगन थापाको दस्ताबेज सही वा गलत भन्ने बारे उहाँलाई नै सोध्नुस् । म कसैको आलोचना वा पक्षपाती होइन । पार्टी कमजोर भएका बेला झन नाङ्गो बनाएर सडकमा लानुभन्दा भित्रि रुपमा छलफल गरौँ । गटगत राजनीति नगरौँ ।” खतिवडाले भने ।
पार्टी विधानअनुसार चल्नुपर्ने भन्दै उनले केन्द्रिय समिति बैठकपछि महासमिति बैठक बस्ने र उक्त बैठकले नै आगामी दिशानिर्देश गर्ने बताए ।
खतिवडाले कांग्रेसमा सुधार ल्याउनका लागि पुराना नेतालाई सम्मान दिनुपर्ने र युवा नेताहरुलाई ठाउँ दिनुपर्ने बताए ।
शिघ्र महाधिवेशनका बारेमा उनले प्रक्रियागत रुपमा जाँदा जे गर्नुपर्छ त्यही गर्नुपर्ने भन्दै पार्टी सुधारका लागि सबै एकजुट हुनुपर्ने बताए ।
युवा र पुराना नेतालाई संयोजन गरेर पार्टीलाई एकताबद्ध बनाएर लानुपर्ने उनको तर्क छ ।
सभापति शेरबहादुर देउवाले पार्टीमा सुधार ल्याउन सक्नुहुन्छ त भन्ने धमलाको प्रश्नमा खतिवडाले भने, “युवा पुस्तालाई पनि अपमान गर्न पाइदैन, पुराना नेताको पनि अपमान गर्नु हुँदैन । दूधबाट झिँगा टिपेर फाले जसरी पार्टीबाट कसैलाई टपक्क टिपेर फाल्न खोजियो भने राम्रो हुँदैन ।”
तपाई शेरबहादुर देउवाको चाकडी गर्दै हुनुहुन्छ भनेर धमलाले भनेपछि आक्रोषित हुँदै खतिवडाले भने, “मलाई के दिएको छ र चाकडी गर्नलाई ? म कन्द्रिय सदस्यमा हारेका व्यक्ति । चाकडी गरेर अहिले मैले के पाउनु छ र ? म कांग्रेसलाई बलियो बनाउन चाहन्छु ।”
आफू कुनै पनि गुटको चाकडी नगर्ने उनले स्पष्ट पारे ।