Logo

जुन दिन कुरा टुङ्गिन्छ त्यही दिन एमाले–माओवादीबिच एकता : पौडेल



वैशाख १६, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जुन दिन कुरा टुङ्गिन्छ त्यही दिन एमाले–माओवादीबिच एकता हुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले दुई दलबिचको एकता सोचेजस्तो सरल नभएकाले कहिले एकता हुन्छ भने भन्न सकिने अवस्था नरहेको बताए ।

“सजिलो छैन । केही विषयहरु टुङ्ग्याउनुपर्ने भएको छ । मसिनो गरी छलफल गर्नुपर्ने आवश्यकता भएकाले दुवै दलका अध्यक्षहरु गम्भीर छलफलमा जुट्नुभएको छ ।” पौडेलले भने ।

संगठनात्मक समायोजनको पक्ष मिलाउन नसकिएको भन्दै उनले भने, “हलो अड्किएको छ । तर तान्नै नसकिने गरी, गोरुले छिचोल्नै नसकिने गरी हलो अड्किएको होइन । संगठनात्मक समायोजनको पक्षले अलि बढि आकार लिएको मात्रै हो ।”

नेतृत्वको विषयमा विवाद भएको नभै बहस भएको उनको तर्क छ । शनिवार भएको केपी ओली र प्रचण्डबिचको कुराकानी सकारात्मक भएको दाबी गर्दै पौडेलले सम्मानजनक एकताको प्रयास भइरहेको बताए ।

शनिवार नै प्रचण्डसँग भेटवार्ता गरेका नेता पौडेलले एकताको विषयमा अध्यक्ष प्रचण्ड गम्भीर भएको बताए । “समान हैसियत र अस्तित्वसहितको एकता हुनुपर्छ । त्यही विषयमा छलफल भइरहेको प्रचण्डले बताउनुभयो ।” पौडेलले भने ।

समान लक्ष्यमा अगाडि बढ्नका लागि गणितीय वा प्रतिशतको आधारमा एकता गर्न नहुने बताउँदै पौडेलले समानताको एकता नै आफूहरुले चाहेको बताए ।

एकता प्रक्रिया लिम्बएकाले जनतामा निराशा देखिएको भन्दै उनले यस विषयमा शीर्ष तह गम्भीर हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्