काठमाडौं, १७ वैशाख । नेकपा माओवादी केन्द्रका नेता एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले यही वैशाखभित्रै पार्टी एकता हुने स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले भने, ‘पार्टी एकता हुन्छ, म ढुक्क हुन सबैलाई आग्रह गर्छु, पार्टी एकता त जनताले अनुमोदन गरिसकेका छन्, अब यसबाट दायाँबायाँ हुने नैतिक धरातल केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैलाई छैन, एकताबाट भाग्ने छुट छैन ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले एकता महाधिवेशन नहुञ्जेल अध्यक्ष, प्रधानमन्त्रीदेखि सबैमा आलोपालो नेतृत्व हुने बताए । अध्यक्षदेखि प्रधानमन्त्रीमात्रै नभएर सबै कुरामा नेतृत्व आलोपालो हुने पौडेलको भनाइ थियो ।
नेकपा एमालेका नेतालाई बहुदलीय जनवादको माया लाग्नु स्वाभाविक भए पनि जनताद्धारा चलाइएको जनयुद्धलाई पनि एमालेका साथीहरुले माया गर्ने उनको विश्वास थियो । एकता प्रक्रिया अब छिट्टै टुंगिने बताउँदै ढिलाइ हुनुमा दुवै दलका समिति समायोजन गर्ने र शीर्ष नेताहरुको व्यवस्थापन गर्न केही समय लागेकोले ढिलाइ भइरहेको उनले जनाए ।
एकता प्रक्रियाबारे नेता पौडेलले भने, ‘कोट, पाइन्ट सिलाइसकियो अब आइरन गर्न बाँकी छ, या भनौं फर्निचर बनाइसकियो अब रंगरोगन गर्न बाँकी छ, एकताबारे दुवै अध्यक्ष ओली र प्रचण्डबीच गम्भीर वार्ता भइरहेको छ ।’
पार्टी एकता सम्मानजनक रुपमा हुनुपर्ने उनको जोड थियो । उनले थपे, ‘गणितको आधारमा एकता हुँदैन, एकता त सम्मानजनक रुपमा हुन्छ, औसतको आधारमा एकता हुँदैन ।’ क्षमता र योग्यताको आधारमा एकता हुने उनको जिकिर थियो ।
हिजो निर्वाचनमा ६० र ४० को अनुपातमा लडिए पनि अब पार्टी एकता ५०/५० को अनुपातमा नहुने उनले जिकिर गरे । उनले थपे, ‘एकले अर्कालाई सम्मान गर्ने हो, कसैले पनि अपमानित भएको महशुस गर्नुहुँदैन ।’