Logo

“मोदीको अभिनन्दनमा लाखौँ नागरिक उत्रनेछन्”



वैशाख १९, काठमाण्डौ । प्रदेश नम्बर दुईका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई ऐतिहासिक बनाउने प्रयास गरिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री सोनलले संघियताअनुसारको प्रदेश सरकार गठन भएपछिको पहिलो महत्वपूर्ण भ्रमण मोदीले गर्न लागेकाले यसलाई भव्य रुपमा सफल बनाउन आफूहरु लागिपरेको बताए ।

“शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण ऐतिहासिक र अभूतपूर्व भ्रमण हो । यसलाई हामीले अभूतपूर्व किसिमले सफल बनाउनका लागि सर्वाङ्गिण तयारीका लागि तयारी अवस्थामा छौँ ।” सोनलले भने । “प्रदेश दुईका सबै जनताले मोदीको भ्रमणलाई दिपावलीको रुपमा लिएका छन् । सुरक्षाको मात्र कुरा नभै जनकपुरलाई सिंगार्ने काम भइरहेको छ । रोडहरु निर्माण भइरहेका छन् । कार्यक्रम हुने बाह्रविघा (रङ्गभूमि) लाई रङ्गाइएको छ ।”

मोदीको सुरक्षाका लागि सबै सुरक्षा निकायसँगको समन्वयमा पाँच तहको सुरक्षा घेरा बनाइएको सोनलले जानकारी दिए ।

कार्यक्रमस्थल रङ्गभूमिमा चौबिसै घण्टा काम भइरहेको उनले बताए । मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी ओली नै जनकपुर आउने खबरले आफूहरु झन उत्साहित भएको उनले बताए ।

कार्यक्रममा पचास हजार मान्छे भेला हुने भनेर गरिएको चर्चाप्रति असन्तुष्ट व्यक्त गर्दै उनले भने, “पचास हजार मान्छे आउने भनेर हाम्रो कार्यक्रमको अवमूल्यन नगर्नुस्, लाखौँको संख्यामा उपस्थित भएर नागरिक अभिनन्दन गर्छौँ ।”

मोदीको भ्रमण प्रदेश दुईको विकासका लागि कोशेढुङ्गा साबित हुने विश्वास गर्दै सोनलले प्रदेश नम्बर दुईको प्रतिष्ठासमेत बढाउने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्