वैशाख २०, काठमाण्डौ । बुधबार राति परेको भीषण असिना पानीसँगैको पहिरोले बझाङमा एक जिप बगाएको छ । जिपमा ३ जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।
पहिरोले बगाएर से १ ज ८२० नं को जिप जयपृथ्वी नगरपालिकाको सुवेडास्थित सडकबाट करिब १ सय मिटर तल चौट्याखोलामा खसेको छ ।
प्रहरी, सेना र स्थानीयहरु बिहानैदेखि उद्धार कार्यमा जुटेका छन् । अप्ठ्यारो ठाउँमा पहिरोमा पुरिएको अवस्थामा भेटिएकोले उद्धार कार्यमा कठिनाई भइरहेको प्रहरीले बताएको छ । जिपमा चालक रमेशचन्द, सदरमुकामका व्यापारी अम्मरराज बन र एक अर्का यात्रु सवार रहेको बताइएको छ ।
तीनै जना सम्पर्कविहीन रहेकोले दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको हो ।
बिहान ७ बजेतिर स्थानीयवासीले जिप दुर्घटनामा परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
गहिरो खोचमा दुई ढुङ्गाको बीचमा जिप खसेका कारण मान्छेबाट गरिएको उद्धार प्रयास असफल भएको छ ।