काठमाडौँ, २४ वैशाख /प्राकृतिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको प्रदेश नं ३ मा पर्यटन क्षेत्रको पहिचान गरी ‘पर्यटन योजना’ बनाउन विज्ञहरुले सुझाव दिएका छन् ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ ले आज पर्यटन बोर्डमा आयोजना गरको सुझाव संकलन तथा अन्तक्र्रियामा आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाउन सुझाव दिएका हुन् ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दराज पोखरेलले हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथ र बौद्धहरुको आस्थाको केन्द्र स्वयम्भू, बौद्ध र नमोबुद्ध रहेको प्रदेश नं ३ मा भारतका हिन्दू धर्मावलम्बी र चीनका बुद्ध धर्मावलम्बीहरुलाई भित्र्याउन सकेमात्र पनि पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो ।
“प्रदेश नं ३ मुलुककै राजधानी शहर र यहाँ सबै धर्म, वेशभूषा, संस्कृति भएका नागरिक बसोबास गर्ने भएकाले सबै जातिलाई समावेश गरेर सांस्कृतिक संग्रहालय बनाउन सकेमात्र पनि प्रदेश नं ३ मा पर्यटकहरु भित्रिन्छन्”, उहाँले भन्नुभयो ।
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले गणेश, लाङ्टाङ, गौरीशंकरलगायत क्षेत्र प्रदेश नं ३ मा रहेकाले पर्वतीय पर्यटक प्रवद्र्धनमा यो प्रदेश महत्वपूर्ण गन्तव्य रहेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारीले नेपालमा आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक हवाईमार्ग हुँदै आउने र प्रदेश नं ३ को बाटो हुँदै अन्य स्थानमा जाने भएकाले त्यी पर्यटकलाई सोही प्रदेशमा समय बिताउने गरी पर्यटन विकास गर्नुपर्ने बताउनुभयो ।
पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सकेमात्र प्रदेश नं ३ को विकास हुने बताउनुभयो ।
कार्यक्रममा ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान), होटल एशोसिएसन अफ नेपाल (हान), नेपाल पर्वतारोहण संघ (एनएमए) लगायत विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाले सुझाव दिनुभएको थियो ।
प्रदेश नं ३ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले प्रदेश नं ३ लाई पर्यटनमैत्री प्रदेश निर्माण गर्नका लागि उक्त कार्यक्रम आयोजना गरेको बताउनुभयो । “सबै क्षेत्रबाट आएका सुझावलाई समावेश गरी नीति, योजना र बजेट निर्माण गछौँ”, उहाँले भन्नुभयो ।
प्रदेश नं ३ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव शिव वाग्लेले प्रदेश नेपालका लागि नयाँ विषय भएकाले सबैको राय, सुझावका लागि प्रदेश मन्त्रालय लागेको बताउनुभयो । नेपालमा सन् २०१७ मा नौ लाख ४० हजार २१४ र सन् २०१८ को तीन महिनामा दुई लाख ८७ हजार ३८० बाह्य पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । (रासस)