Logo

मन्त्री मगरसँग अमेरिकी राजदुतको भेट, सहयोगको विषयमा छलफल



काठमाडौं, २४ बैशाख । खानेपानी मन्त्री बिना मगर र नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिट्जबीच भेटवार्ता भएको छ ।

सोमबार खानेपानी मन्त्रालयमा गरिएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको मन्त्री मगरको सचिवालयले जनाएको छ ।

मन्त्रालयका योजना र अमेरिकी सरकारले गर्न सक्ने सहयोगका विषयमा आजको भेटमा छलफल भएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा मन्त्री मगरले जनतालाई स्वच्छ खानेपानीको सहज सुविधा पु¥याउँन मन्त्रालयले योजना बनाइरहेको बताइन् । ‘सातवटै प्रादेशिक राजधानी तथा तराईमा ठूला ८ वटा खानेपानी आयोजना सञ्चालनका लागि अध्ययन भइरहेको छ,’ उनले भनिन्, ‘खानेपानी मन्त्रालय जनताको चुलो र महिलासँग जोडिएकाले मन्त्रालयको नेतृत्वमा महिला नै पाउँदा जनताका अपेक्षा बढी छन् ।’ पहाडी र हिमाली क्षेत्रका लागि राष्ट्रिय प्राथमिकताका योजना सञ्चालनका लागि अध्ययन भइरहेको मन्त्री मगरले बताइन् ।

‘सरसफाईलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने गरी योजना बनिरहेको छ,’ उनले भनिन्, ‘खुलादिसामुक्त जिल्ला घोषणा अभियान अन्तिम चरणमा पुगेको छ । आगामी असारभित्र शत्प्रतिशत प्रगति हुन्छ ।’ आगामी २८ मेका दिन परेको अन्तर्रा्ष्ट्रिय महिनावारी स्वच्छता दिवसलाई सचेतना अभियानका रुपमा मनाउने तयारी भइरहेको मन्त्री मगरले जानकारी दिइन् ।

काठमाडौंवासीलाई खानेपानी सुविधा पु¥याउने मेलम्ची खानेपानी आयोजनाको काम समेत तीब्र गतिमा अगाडि बढिरहेको मन्त्री मगरले बताइन् । भेटवार्तामा राजदूत अलैनाले खानेपानीको पूर्वाधार निर्माणमा सहयोग गर्न पहल गर्ने बताइन् ।

‘नेपालमा अहिले सरकार र व्यवस्था परिवर्तन भएको छ, त्यही अनुसार हामी सहयोग र कार्यक्रम पुनरावलोकन गर्छाै,’ उनले भनिन्, ‘सरकारका प्राथमिकता पूरा गर्दै जनताको सेवा गर्न चाहन्छौं।’ खानेपानी र सरसफाईको आधारभूत कुरामा प्रगति गर्न नसकिए अन्य प्रगति गर्न नसकिने बताउँदै राजदूत अलैनाले अमेरिकन सरकार सहयोग र सहकार्य गर्न प्रतिवद्ध रहेको जनाइन् ।



प्रतिक्रिया दिनुहोस्