Logo

राजधानी र नामाकरण सहमतिमा : मुख्यमन्त्री राई



गाईघाट, उदयपुर, २९ वैशाख : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण गरिने बताउनुभएको छ । 

गाईघाटमा प्रेस सेन्टर नेपाल तथा प्रेस चौतारी नेपाल, उदयपुरले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेनमा मुख्यमन्त्री राईले भन्नुभयो, “प्रदेश सरकारले आगामी जेठ १५ सम्म प्रदेशको राजधानी कहाँ राख्ने र नाम के राख्ने भन्ने कुरा सहमतिबाट नै टुंगो लगाउनेछ ।”

प्रदेशको नाम र राजधानीबारे सहमतिका लागि सबै पक्षसँग वार्ता र छलफल भइरहेको उहाँको भनाइ थियो ।

प्रदेश सरकारले धेरै काम गरेर अगाडि बढाइरहेको बताउँदै उहाँले अहिलेसम्म प्रदेशसभाले ११ वटा कानुन बनाइसकेको स्पष्ट पार्नुभयो ।

प्रदेश नं. १ प्राकृतिक स्रोत र साधन भएको प्रदेश भएकाले यी स्रोत र साधन प्रचुर मात्रामा प्रयोग गर्ने तयारीका लागि गृहकार्य थालेको मुख्यमन्त्री राईले बताउनुभयो ।  (रासस)



प्रतिक्रिया दिनुहोस्