जेठ ६, काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले पुरानो मिटर विस्थापित गर्ने भएको छ । प्राधिकरणले ग्राहकलाई स्मार्ट मिटर वितरण गरेर पुरानौ शैलीको मिटर हटाउन लागेको हो ।
स्मार्ट ग्रिडसहितको स्वचालित (अटोमेसन) वितरण प्रणालीमा जानका लागि प्राधिकरणले सबै ग्राहकलाई स्मार्ट मिटर दिनेगरी प्रक्रिया अघि बढाएको हो ।
२०७२ फागुन ६ मा सरकारले ल्याएको ऊर्जा संकट तथा ९९ बुँदे कार्ययोजनामा विद्युत् प्राधिकरणको वितरण प्रणालीलाई स्मार्ट ग्रिड सिष्टममा लैजाने उल्लेख थियो ।
प्राधिकरणका अनुसार पहिला एकोहोरो प्रणालीको रुपमा लिइने अटोमेटिक मिटर रिडिङ (एएमआर) जानेगरी अघि बढेकोमा अहिले भने अझ यसलाई आधुनिकीकरण गर्दै दोहोरो प्रणालीको रुपमा लिइने एडभान्स मिटरिङ इन्फ्रास्ट्रक्चर (एएमआर) प्रणाली तयार भएको छ ।
टीओडी मिटर र थ्री फेज लिएका ठूला ग्राहकलाई परम्परागत मिटर प्रतिस्थापन गरेर स्मार्ट मिटर दिनका लागि अघि बढेकोे प्राधिकरणले अब आउने नयाँ ग्राहकका लागि भने स्मार्ट मिटर दिने लक्ष्य राखेको छ ।
प्राधिकरणले थ्री फेज लाइन जडान गरेका ग्राहकको हालको मिटर प्रतिस्थापन गरी स्मार्ट मिटर जडान गर्ने लक्ष्यअनुसार तत्कालका लागि ६० हजार स्मार्ट मिटर खरिदका लागि टेण्डर आह्वान गर्नका लागि प्रक्रिया अघि बढेको छ ।
त्यसैगरी प्राधिकरणले अब बन्ने नयाँ ग्राहकलाई स्मार्ट मिटर दिनेगरी पहिलो चरणमा ७ लाख खरिद गर्नका लागि प्रकृया अघि बढाएको छ ।
एसियाली विकास बैंकको सहयोगमा विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशानालयले समेत ९८ हजार स्मार्ट मिटर खरिदको प्रकृया अघि बढाएको छ ।