काठमाडौं, १४ जेठ । संघीय समाजवादी फोरम नेपाल यही हप्ताभित्रै सरकारमा जाने भएको छ । यद्धपी सरकारमा कुन–कुन नेतालाई पठाउने भन्नेबारे अहिले फोरमभित्र अहिले आन्तरिक छलफल सुरु भएको छैन् ।
पार्टीका अधिकांश नेताहरु काठमाडौं बाहिर भएकोले सरकारमा क–कसलाई पठाउने भन्नेबारे छलफल भोलि वा पर्सी हुने अध्यक्ष उपेन्द्र यादवले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।
सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच आज मात्रै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई बुँदे सहमति गरेका हुन् । सहमति अनुसार नै फोरम नेपाल सरकारमा सहभागी हुने भएको हो । स्रोतका अनुसार फोरमले तीन मन्त्रालय पाउने भएको छ ।
फोरम नेपालका अध्यक्ष यादव नै पार्टीबाट सरकारको नेतृत्व गरेर जान सक्ने सम्भावना रहेको छ। प्रधानमन्त्री ओलीपछिको दोस्रो वरियता दिएमात्रै यादवले सरकारमा प्रतिनिधित्व गर्ने बुझिएको छ ।
यादवसँगै पार्टीबाट अन्य दुई जना पनि सरकारमा जाने भएकोले मन्त्री बन्नको लागि अहिले दौडधुप सुरु भएको छ। मन्त्रीको नाममा सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेतृ रणु यादव, राम साह राय र सरिता गिरीको पनि चर्चा छ ।