काठमाडौँ, १५ जेठ/ पुनःनिर्माणलाई आगामी आर्थिक वर्षको बजेटमा पनि प्राथमिकता दिँदै निजी आवास बनाइसक्ने घोषणा गरिएको छ ।
पुनःनिर्माणका लागि आव २०७५÷२०७६ मा रु एक खर्ब ५१ अर्ब आठ करोड १३ लाख बजेट छुट्याइएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्प र गत वर्ष तराई–मधेश क्षेत्रमा आएको बाढीपहिरो पीडितका लागि आवास पुनःनिर्माणलाई गति दिइने अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ ।
बाढीपहिरो र डढेलोलगायत सबै प्रकारका प्राकृतिक प्रकोपपीडितको आवास निर्माणका लागिसमेत बजेट व्यवस्था गरिएको छ । पुनःनिर्माणका अन्य आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्माणलाई थप तीव्रता दिइने प्रतिबद्धता बजेटको छ ।
प्रदेश र स्थानीय तहसँगको सहकार्यमा विपद् व्यवस्थापनका लागि पूर्वतयारी गरिने भएको छ । विपद् प्रभावितले अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य गर्ने लक्ष्यसमेत बजेटको छ । यसका लागि पनि आवश्यक बजेट व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले उल्लेख गर्नुभएको छ । (रासस)