Logo

धुर्मुस-सुन्तली फाउन्डेसनमाथि यस्तो आरोप



काठमाडौं १८ जेठ । नेपाल सरकारले शुरुआत गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ। फाउन्डेसनको नाममा लाखौं रकम असुल गरेको आरोपसमेत लागेको छ।
शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले मनपरी ढंगले सहयोग उठाइरहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइ युक्त बनाउन जेठो अस्पतालबाटै एकमहिने सरसफाइ अभियान सञ्चालन गर्नुभएको थियो।

गत वैशाख २३ गतेदेखि सफाइ अभियान चलाइएको थियो। अस्पतालमा खटिने १ सय ५० सरसफाइ कर्मचारीले हरेक दिन सरसफाइ गरिरहे पनि अस्पताल निक्कै दुर्गन्धित भएपछि स्वास्थ्य राज्यमन्त्रीले आफैं शौचालयसमेत सफा गर्न वीर पुग्नुभएको थियो। स्वास्थ्य राज्यमन्त्री अर्यालले अभियानको थालनी गरेपछि सरसफाइ दूतका रूपमा समेत रहेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले अस्पताल सफाइको बहानामा रकम असुल्न शुरू गरेको आरोप लागेको छ।
स्वास्थ्य राज्यमन्त्रीको अगुवाइमा शुरू भएको वीर अस्पताल सरसफाइ तथा रङरोगन अभियानको सबै खर्च अस्पतालले बेहोर्नुपर्नेमा धुर्मुसले इमोसनल कुरा गर्दै लाखौं रुपियाँ उठाएको आरोप लागेको छ।

सरसफाइका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेरै रकम संकलनमा लागेको फाउन्डेसनले दैनिक लाखौं रुपियाँ उठाएको बताइएको छ। स्वास्थ्य राज्यमन्त्री अर्यालले अस्पताललाई अझ राम्रो बनाआंै भनेर अभियान चलाउन खोज्दा धुर्मुस–सुन्तलीलाई अभियान्ताका रूपमा खोजी भएको थियो।
१ सय २८ वर्ष पुरानो अस्पतालको बाहिरी भाग (शौचालयसमेत) आफैं सफाइ गर्दै आन्तरिक सफाइ पनि जरुरी भएको स्वास्थ्य राज्यमन्त्री अर्यालले त्यस बेला नै बताउनुभएको थियो।

देशका कुनाकाप्चाबाट दैनिक ५ हजार बढी बिरामी आउने अस्पतालमा स्वास्थ्य मन्त्रालयले अस्पताल र ट्रमा सेन्टरको १५–१५ दिनको सफाइ अभियान चलाउन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ क्षेत्र सफा गरेको खेम्स क्लिनिङसँग सहकार्य गरेको थियो। नेपाल सरकारका सरसफाइ दूत सीताराम कट्टेल पनि अभियानमा सहभागी भएका थिए। अस्ट्रेलियाबाट नेपाल आउनुभएका खेम्स क्लिनिङका खेम शर्माका १५ जना स्वयंसेवकसहित वीर अस्पतालका १० जना सरसफाइ कर्मचारी पनि सफाइमा जुटेका थिए।
वीर अस्पतालका निर्देशक डा, भुपेन्द्र बस्नेतले सबै सरसफाइको काम अस्पतालले गरेको सञ्चारमाध्यमलाई बताउदै आउनुभएको छ।

अस्पतालले आफ्नै खर्चमा सरसफाइ गरेको बताएपनि सो फाउन्डेसनले अभियान भन्दै रकम संकलन गरेको र संकलित रकम कहाँ कसरी खर्च भएको छ भन्ने बारेमा अहिलेसम्म कुनै हिसाब किताब सार्वजनिक भएको छैन। सफाइकै लागि ४७ लाख खर्च भएको भन्दै धुर्मुस सुन्तलीले आफू ऋणमा चलेको बताउँदै आएका छन्। वीरका निर्देशकले काम गर्ने मान्छेदेखि खर्चसमेत अस्पतालले नै गरेको बताउनु र धुर्मुसले ४७ लाख खर्च भएको बताउनुले कुरा बाझिएको छ। नेपालसमाचारपत्रबाट



प्रतिक्रिया दिनुहोस्