काठमाडौँ, २३ जेठ / प्रधानसेनापति राजेन्द्र क्षत्री भारतको छदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा उहाँ आज भारत प्रस्थान गर्नुभएको नेपाली सेनाले जनाएको छ । उहाँलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।
भ्रमणमा रहँदा प्रधानसेनापति क्षत्रीले देहरादुनस्थित भारतीय सेनाको एकेडेमीमा सञ्चालित अधिकृत आधार तालीमको आयुक्त पद प्रदान कवाजको प्रमुख अवलोकन अधिकृतकारुपमा आतिथ्यता गर्नुहुनेछ ।
भ्रमणको अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भ्रमणको दौरान प्रधानसेनापति श्री क्षत्रीले भारतका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्षसहित अन्य उच्चपदस्थ अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी उहाँ यही जेठ २८ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम छ । (रासस)