Logo

सडकमा टिपर अातंक



काठमाडौं ३१ जेठ । श्रीमान् आशिष जोशीको कम्मर समाएर सुरक्षित महसुस गर्दै स्कुटरमा बसेको केही समयपछि नै अस्मिता बीच बाटोमै दुर्घटनामा परिन् । उनलाई टिपरले पछाडिबाट ठक्कर मात्र दिएन, लतार्दै अघिसमेत लग्यो । यसबाट भुइँमा लडेकी २४ वर्षीया अस्मिताको उपचारका क्रममा अस्पतालमै बुधबार ज्यान गयो । सिन्धुपाल्चोकबाट बालुवा लिएर आइरहेको टिपरले स्कुटर लडाएपछि ब्याक गरेर स्कुटर किचेको दाबी गर्दैै आक्रोशित स्थानीय बासिन्दाले घटनास्थलमै टिपरमा आगजनी गरेका थिए ।

टिपरको ठक्करबाट जेठमा उपत्यकाभित्र ज्यान गुमाउने अस्मिता चौथो व्यक्ति हुन् । यसअघि भक्तपुरमा तीन जनाको ज्यान गएको थियो । बा ७० प ९३९९ नम्बरको स्कुटरपछि बसेकी भण्डारीलाई बा ४ ख ३५५८ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपर चालक पृथ्वीनारायण नापितलाई पक्राउ गरी सोधपुछ भइरहेको प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले बताए ।

छिमेकीका बिरामी छोरालाई उपचारमा सघाउन गएका भक्तपुर, लोकन्थलीका ५० वर्षीय हरिबहादुर कटुवालले जेठ ९ गते ज्यान गुमाए । दोलखा घर भई लोकन्थलीमै बस्दै आएकी छिमेकी सविता घिमिरेको अनुरोधमा काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलमा पढ्ने बिरामी छोरा अरविन घिमिरे लिन गएका थिए ।

बिरामी अरविनलाई उपचारका लागि अस्पताल पु¥याउन नपाउँदै हरिसँगै तीन जना सडक दुर्घटनामा परे । साँगाबाट भक्तपुर फर्किंदै गर्दा उनीहरू सवार बा ५६ प १२२७ नम्बरको स्कुटीलाई सोही दिशाबाट आएको बा ३ ख ६६७४ नम्बरको टिपरले भक्तपुर पलासेंमा ठक्कर दिएको थियो । ठक्करबाट तीनै जनाको घटनास्थलमै ज्यान गयो । चालक घटनास्थलमै टिपर छाडेर फरार भए ।

छोराछोरीसँगै रेस्टुरेन्टमा नयाँ वर्षको अघिल्लो साँझ खाना खाएर घर फर्किने क्रममा वसुन्धरा चोकनजिकै उभिएकी कान्ता आचार्यसहित सात जनालाई टिपरले ठक्कर दियो । सबै घाइते भए । एक महिना आईसीयूमा बसेकी ७४ वर्षीया आचार्य अझै शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छिन् ।

बढ्यो चालकको मनोमानी

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी टिपर/ट्रकहरूले सडक लेन मिचेर मनोमानी रूपमा हाँक्ने प्रवृत्ति मौलाउँदै गएको बताउँछन् । ‘जति धेरै ट्रिप गर्न सक्यो त्यति धेरै आम्दानी हुने लोभले तीव्र गतिमा हाँक्ने प्रवृत्ति छ । सडक लेन मिचेर हाँक्छन्’, उनले भने, ‘दुईपांग्रे मात्र होइन, पैेदल यात्रुलाई पनि ठक्कर दिन्छन् ।’

चालू आर्थिक वर्षको चैत मसान्तसम्म ट्रक÷टिपरबाट मात्रै ३४ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक छ । अघिल्लो आवमा उपत्यकाभित्र दुर्घटना भएकामध्ये ट्रक÷टिपरबाट ६४ जनाले ज्यान गुमाएका थिए । जेठमा मात्र टिपरको ठक्करबाट चार जनाले अकालमा ज्यान गुमाए । विशेषगरी टिपरको लापरबाहीको मारमा दुईपांग्रे सवारीसाधन पर्ने गरेका छन् ।

महानगरीय ट्राफिक महाशाखाको प्रमुख छँदा तत्कालीन डीआईजी सर्वेन्द्र खनालले टिपरले सडकमा आतंक मच्चाइरहेको उल्लेख गर्दै त्यसलाई बन्द गराएरै छोड्ने उद्घोष गरेका थिए । उपत्यकाको ट्राफिक व्यवस्थापनमा कायापलट गर्ने प्रतिबद्धता व्यक्त गरेका खनाल पदोन्नति भएर प्रहरी महानिरीक्षक बनिसकेका छन् । तर, उपत्यकाका सडकमा टिपर र ट्रकको लापरबाहीमा कमी आएको छैन ।

‘टिपर चालकले ट्राफिक नियम तथा लेन अनुशासन पालना गरेको देखिँदैन’, पूर्वडीआईजी मल्लले भने, ‘खलासीका रूपमा काम गरेकाहरू चालक बनेकाले उनीहरूमा हेभी सवारी चलाउने क्षमता हुँदैन ।’

७० देखि ७५ प्रतिशत दुर्घटना चालककै लापरबाहीबाट हुने गरेको प्रहरी प्रवक्ता एसएसपी क्षेत्रीको भनाइ छ । आर्थिक वर्ष २०७२÷७३ मा सात हजार चार सय ३२ वटा दुर्घटनामा चालककै लापरवाही भएको पाइएको उनले बताए । २०७३÷७४ मा पनि सात हजार चार सय ८७ वटा दुर्घटनामा चालकको लापरवाही देखिएको छ । चालू आवको वैशाख मसान्तसम्म पनि ६ हजार नौ सय ९२ वटा दुर्घटनामा चालकको लापरबाही भएको पाइएको छ । चालू आवको वैशाख मसान्तसम्म मुलुकभर ट्रक, टिपर र ट्यांकरको संलग्नतामा १९ सय ७० दुर्घटना भएका छन् ।

सजिलै छुट्छन् चालक

सवारी ज्यानसम्बन्धी ऐन, २०४९ को दफा १६१ मा सवारी ज्यानमा सर्वस्वसहित जन्मकैदसम्मको सजाय हुने व्यवस्था रहे पनि मार्ने मनसाय पुष्टि हुन कठिन हुने भएकाले लापरवाहीअन्तर्गत मुद्दा चलाउने गरेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सूर्य दाहालले बताए । भवितव्यमा एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवानाको माग गरी मुद्दा दर्ता गर्ने गरेको उनले जानकारी दिए ।अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्