असार १, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सल्लाह गरेर शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
पार्टी एकीकरण भएपछि पहिलोपटक स्थायी समिति बस्न लागेको हो । सचिवालय बैठकबाट गठित कार्यदलका प्रतिवेदन पेस तथा समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।
शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ । त्यसअघि २ बजे केन्द्रीय सचिवालय बैठक बस्नेछ ।
स्थायी समितिमा यसअघि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित संगठनात्मक संरचना सम्बन्धी सुझाव दिन गठित समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री केपी ओलीको असार ५ गते हुने चीन भ्रमण लगायतका विषयमा पनि छलफल हुनेछ ।
पौडेल नेतृत्वको समिति चारवटा आयोग प्रस्ताव गरेको छ । यसअघि तत्कालीन एमालेको संरचनामा कायम रहेका आयोगले निरन्तरता पाएका छन् । जसमा अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, निर्वाचन आयोग लगायत छन् ।