Logo

यसैवर्ष जनकपुरमा रेल गुड्ने !



काठमाडौं ४ असार । भारत सरकारको सहयोगमा सञ्चालित जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजनाको काम अन्तिम चरणमा छ । १० अर्बभन्दा बढीको यो परियोजना दुई वर्ष ढिला भए पनि यस वर्ष (सन् २०१८) भित्र जनकपुरवासीको ब्रोडगेज रेल चढने सपना पूरा हुने छाँट देखिएको छ ।

जयनगर (भारत)–जनकपुर–कुर्था (३५ किलोमिटर), कुर्था–भंगहा (१७ किलोमिटर) तथा भंगहा–बर्दीवास (१७ किलोमिटर) गरी कुल ६९ किलोमिटर लामो रेल विस्तार तथा स्तरोन्नति परियोजना तीन चरणमा पूरा हुने नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझाले जानकारी दिए ।
प्रथम चरणमा जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरको निर्माण लगभग पूरा भइसकेको छ । ३५ किमिमध्ये ३० किमिमा फलामे रेललिक समेत जडान भइसकेको छ । इन्जिनियर ओझाका अनुसार यस रुटको पुल र कल्भर्टको निर्माण लगभग सम्पन्न भइसकेको छ ।

स्टेशनभवन, कर्मचारी आवास, प्लेटफर्मसँगै रेल लिकमा माटो पुर्ने, बोल्डर पुर्ने तथा फलामे लिक जडान गर्ने काम पनि लगभग पूरा भएको छ । इन्जिनियर ओझा यस रुटमा सन् २०१८ को अन्त्यसम्म रेल सेवा सञ्चालन भइसक्ने बताउँछन्, ‘निर्माण कम्पनीले अक्टुवरसम्ममा सिभिल काम पूरा गरी हस्तान्तरण गरिसक्ने प्रतिबद्धता जनाएको छ । यस वर्षभित्र जनकपुरवासीको ब्रोडगेज चढने सपना पूरा हुनेछ,’ ओझा कान्तिपुरसँग भने ।

दोस्रो चरणको कुर्थादेखि भंगहासम्मको रुटमा समेत धमाधम काम भइरहेको उनले जानकारी दिए । इन्जिनियर ओझाका अनुसार दोस्रो चरणको काम पनि तीव्र गतिमा हुँदैछ । अधिकांश पुल र कल्भर्टको निर्माण सम्पन्न भइसकेको छ । बाँकी पुल पुलेसाको निर्माण पनि हुँदैछ । माटो तथा बोल्डर पुर्ने काम ८० प्रतिशत पूरा भइसकेको उनले जानकारी दिए । रेल्वे स्टेशन, प्लेटफार्म, कर्मचारी आवासलगायतको भौतिक संरचना पनि द्रुत गतिमा भइरहेको उनले बताए ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्