विशेष प्रतिनिधि ऋषि धमला : बेईजिङ, ५ असार ।नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसँगै नेपालमा अब चीनीयाँ लगानी ह्वात्तै बढ्ने विश्वास व्यक्त गरेकी छिन् ।
प्रधानमन्त्रीको ६ दिने राजकीय चीन भ्रमण दलको सदस्य समेत रहेकी अध्यक्ष राणाले चीनमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएकी हुन् ।
उनले भनिन्,“अहिले एकदमै महत्वपूर्ण समयमा प्रधानमन्त्रीको भ्रमण हुँदैछ, धेरै लामो समयपछि अहिले नेपालमा स्थिर सरकार बनेको छ । अहिलेको सरकारको मुख्य एजेण्डा भनेको नै आर्थिक समृद्धि हो । उहाँको भ्रमण नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध अर्थात कुटनीतिक सम्बन्धलाई अझै परिस्कृत गर्नको लागि पनि फलदायी हुन्छ ।”
त्यस्तै उनले अघि भनिन्,“अर्को कुरा अहिलेको समयलाई मुलुकको अािर्थक समृद्धिलाई कसरी अगाडि बढाउने भन्ने नै हो, चीनीयाँहरु नेपालमा लगानी गर्न उत्सुक भैरहेको अवस्था छ । उनीहरुले पहिलादेखि हाईड्रोमा त कुरा गरिरहेका थिए । त्यसबाहेक अहिले टुरिज्म सेक्टरमा पनि लगानी गर्ने, पूर्वाधार विकासमा पनि लगानी गर्ने जस्तो फाष्ट ट्रयाकमा । अरु सेक्टरमा पनि छ । त्यसले गर्दा । प्रधानमन्त्रीको भ्रमणले पनि यसमा अझै बल पुर्याउँछ ।”
नेपालमा स्थायी सरकार बनेकोले अबको समय भनेको त नेपालमा लगानी गर्न आउ भन्ने भएकोले पनि प्रधानमन्त्रीको भ्रमणले त्यस्तो आग्रह गर्न अझै धेरै मद्दत पुग्ने उनको विश्वास छ । उनले थपिन्,“अब चीनीयाँहरुको नेपालमा लगानी बढ्ने सम्भावना छ । पूर्वाधार, उर्जा र पर्यटनमा उहाँहरु ईन्ट्रष्ट हुनुहुन्छ ।”
यीबाहेक चीनीयाँहरुमा नेपालको शिक्षा क्षेत्रमा पनि लगानी गर्न उत्सुकता रहेको राणाले जनाईन् । उनले भनिन्,“अहिले त चीनीयाँ बैंकको पनि कुरा आएको छ, पहिला पहिला हेर्दा त चीनीयाँ लगानीका धेरै कुरा आउँथे, अब भनेको त साँच्चिकै लगानी गर्नुपर्छ । हामीले पनि समय आएको भनेका छौं । धेरैपछि नेपालमा स्थिरता भएको कारणले त चीनले लगानीमा हात हाल्ने देखियो ।”
उनले अहिले नेपालमा श्रम समस्यामा सुधार आएको पनि स्पष्ट पारिन् । यद्धपी उनले नीतिको समस्या भने यथावत रहेको गुनासो पोखिन् । उनले भनिन्,“सरकारले निजी क्षेत्रले उठाउँदै आएको कुरालाई सम्बोधन गर्नुपर्छ, नीतिहरुलाई अब लगानीमैत्री बनाउनुपर्छ, पोलिसी रिफोर्म गर्नुपर्छ ।”