Logo

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भ्रमण दलका १४ सदस्यहरुको यस्तो छ प्रतिक्रिया (कसले के भने)



विशेष प्रतिनिधि ऋषि धमला : बेईजिङ, चीन ६ असार । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सी जिनफिङबीच आज बुधबार बेइजिङको सरकारी अड्डा ग्रेट हल हफ द पीपुलमा भेटवार्ता हुँदैछ।

प्रधानमन्त्रीको भ्रमण दलमा रहेका मन्त्री, उद्योगी व्यवसायी, पत्रकार र परराष्ट्र मामिलाका जानकारहरुले प्रम ओलीको यो भ्रमण सफल, फलदायी र नेपालमा चीनीयाँ लगानी भित्र्याउन कोशेढुंगा सावित हुने विश्वास दिलाएका छन् ।

चीनमा रहेका पत्रकार ऋषि धमलाले भ्रमण दलमा रहेका विभिन्न सदस्यहरुसँग आज विशेष कुराकानी गरेका छन् ।

रघुवीर महासेठ (भौतिक पूर्वाधार तथा यातायातमन्त्री)

प्रधानमन्त्रीको भ्रमण सफल हुन्छ । यो स्वभाविक छ । म त तयारीको लागि १७ तारिखमा नै यहाँ आएको छु । चीनीयाँ यातायातमन्त्रीसँग मेरो एक घण्टा वार्ता भयो । केरुङदेखि काठमाडौसम्म रेल पुर्याउनेबारे मेमोर्याण्डम अफ अन्डरस्ट्याण्डिङ हुन्छ । त्यस्तै नेपालबाट मासु र तरकारी चीन निर्यात गर्नेबारे पनि कुरा गरेको छु । चीनीयाँ रेल काठमाडौं पुर्याउनेबारे ६ महिनाभित्र समझदारीबारे अन्तिम टुँगो लाग्छ । एक वर्षभित्र डिपिआर हुन्छ । ५ वर्षभित्र केरुङदेखि काठमाडौं रेल पुग्ने आशा गरौं । ढिलोमा ६ वर्षमा चीनीयाँ रेल काठमाडौं पुग्छ ।
उक्त रेल अनुदान, ऋण वा नेपाल सरकारकै पनि केही अंश लगानीमा बन्न सक्ने मन्त्री महासेठको भनाई छ ।

भवन भट्ट, अध्यक्ष (एनआरएनए)

प्रधानमन्त्रीको भ्रमण सफल हुने आधार भनेको नै अहिले नेपालमा राजनीतिक वातावरण अत्यन्तै राम्रो छ । नेपालको वास्तविक परिस्थिति भनेको अहिले हामी तरलताबाट उठेका छौं । स्थिर अवस्था छ । लगानीकर्ताले के हेर्छ भने सरकार परिवर्तन हुँदा असर पर्ने भएकोले स्थिरता अथवा राजनीतिक स्थायत्वि हेर्छ । हिजो नेपालमा लगानी गर्ने कुरा हुँदा त्यति आरामदायी अवस्था हुँदैनथियो, अब चाहीँ स्थिर सरकार भएकोले लगानी गर्न सहज वातावरण छ ।

चीनीयाँ पक्ष नेपालमा ह्वात्तै लगानी गर्न आँतुर छन भनेर शतप्रतिशत आश्वस्त छौं भनेर अहिले भन्न सकिँदैन । तर उनीहरुको नेपालमा लगानी गर्नेबारे सोचाई बढेको छ । नेपाल र चीन भौगोलिक रुपमा जोडिएका छन् । आज चीनले अफ्रिकादेखि पाकिस्तान लगायत छिमेकी मित्रराष्ट्रमा पनि लगानी गरेको छ । हामीले पनि उनीहरुलाई लगानीको लागि उपयुक्त वातावरण बनाउनुपर्छ ।

चीनले खास एउटामात्रै क्षेत्रमा भन्दापनि नेपालमा विविध क्षेत्रमा लगानी गर्न सक्ने आधारहरु रहेका छन् । आधारहरु त हामीले प्रस्तुत गर्ने हो । नेपालमा लगानीका लागि हजारौं चिज छन् । कृषि, उर्जा, पर्यटन, पूर्वाधार विकास । भारत र चीनीयाँ रेल काठमाडौंमा आउँछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेपनि भारतीय रेल ल्याउँछु भन्नु भएको छ । कसैले सुरु गरे राम्रो हुन्छ । आज ओबिआर प्रोजेक्टमार्फत चीन विश्वमा लम्किएको छ । नेपालमा रेल ल्याउने कुरा अब चीनीयाँ अनुदानपनि हुनसक्छ । अर्थात जिटु ज भयो भनेपनि धेरै राम्रो हुन्छ । ग्रान्टमा पनि आउन सक्छ । ईन्भेष्ट मोडेलमा पनि जान सक्छ ।

चीनले नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न ईच्छुक छ । त्यसको लागि नेपालले राम्रो वातावरण बनाउनसक्नुपर्छ । प्रधानमन्त्री ओली अब चीन भ्रमणपछि जापान जानुपर्छ भन्ने मेरो मान्यता हो । किनकी जापानले विगत धेरै लामो समयदेखि राजनीतिक स्वार्थ नराखिकन नेपाललाई सहयोग गर्दै आएको छ । जापानमा उन्नमत र आधुनिक प्रविधि ठूलो छ। नेपालले जापानलाई पनि सँगै लिएर जानुपर्छ भन्ने मेरो मान्यता हो । म यसको लागि निरन्तर लागिरहेको छु ।

रुपक सापकोटा, परराष्ट्र मामिलाका जानकार

सर्वप्रथम प्रधानमन्त्री ओलीको चीन भ्रमण यो दोस्रो पटक हो । भ्रमण औपचारिक रुपमा हिजोबाट सुरु भएको छ । आज उहाँले चीनीयाँ राष्ट्रपतिसँग भेट्दै हुनुहुन्छ । भोलि द्धिपक्षीय भेटवार्तामा केही महत्वपूर्ण सहमतिहरु हुँदैछ । बिआरआई, रेल, कनेन्टिभिटिी, विद्युत प्रशारण लाईनमा सहमति हुने प्रवल सम्भवाना छ ।

चीनीयाँ राष्टपति र प्रमको भेटमा के के कुरा राख्नुहोला ? भनेर अहिले यसै भन्न सकिने अवस्था नभएपछि नेपालको प्रधानमन्त्रीले यस अघि सार्नुभएको विकास र समृद्धिलाई सहयोग पुग्ने हिसाबले के कस्ता परियोजनाहरु अघि बढाउन सकिन्छ र आर्थिक सहयोगदेखि अन्य प्रकारको सहयोगबारे उहाँहरुबीच सघन रुपमा छलफल हुन्छ भन्ने मैले विश्वास लिएको छु । यसपटक प्रधानमन्त्रीज्यू विकास र समृद्धिको मुद्दामा केन्द्रित हुनुहुन्छ ।

चीनीयाँ आँखाको विश्लेषण के छ भन्नुपर्दा चीन आँफैमा कम्युनिष्ट सरकार हो । नेपालमा पनि कम्युनिष्ट सरकार गठन भएको छ । यो कुरा चीनीयाँहरुको लागि गौरवको विषय हो । नेपाल समृद्ध हुँदा नै चीनको रणनीति चासोको सम्बोधन हुन्छ । नेपालको समृद्धि र विकासमा चीनीयाँहरुको सहयोग निरन्तर रहन्छ ।

सुधिर शर्मा, प्रधान सम्पादक, कान्तिपुर दैनिक

आज र भोलि प्रधानमन्त्री ओलीको चीनीयाँ पक्षसँग विशेष वार्ताहरु हुँदैछन । यो भ्रमणले उच्च स्तरको राजनीतिक विश्वास कायम गर्ने हो । नयाँ सम्बन्धको सुरुवात हुन्छ होला । ठूलै खालको सम्झौता होलाजस्तो मलाई लाग्दैन् । जस्तो रेलको सम्भाव्यता अध्ययनबारे सहमति हुनसक्छ । त्यस्तै कृषि तथा भौतिक पूर्वाधारमा सम्झौता हुन्छ होला । यही भ्रमणमा नै पारवाहन तथा यातायात सम्झौता कार्यान्वयन गर्न प्रोटोकलमा हस्ताक्षर हुने भनिएको थियो । तर त्यो सम्भावना अब टरेको छ । प्रधानमन्त्री ओली र चीनीयाँ राष्ट्रपतिबीच पहिलेपनि भेटवार्ता भैसकेकोले यसपटक औपचारिकभन्दा अलिक पर गएर कुराकानी हुन्छ । उहाँहरुबीच वान टु वान भेटवार्तामा के कुरा होला भनेर यसै भन्न सकिँदैन ।

राजन केसी : नेता, नेपाली कांग्रेस

भ्रमणको सुरुवात ठिकै छ । सेड्युल अनुसार नै भ्रमण भैरहेको छ । द्धिपक्षीय सम्बन्धलाई थप उचाई दिनको लागि आउनुभएको हो । अब कार्यान्वयन पक्षमा अघि बढ्नुपर्छ । नेपालमा लगानी गर्न चीनीयाँ पक्ष सकारात्मक छ । विगतमा भएको सम्झौतालाई कार्यान्वयनमा लैजान प्रधानमन्त्रीको एजेण्डामा छ । यो सुखद् पक्ष हो ।

डा. राजन भट्टराई, परराष्ट्रविद

प्रधानमन्त्रीको भ्रमण असाध्यै ऐतिहाँसिक र सफल हुन गैरहेको छ । उच्चस्रतीय राजनीतिक भेटवार्ता भनेको नै एकअर्काले विश्वास गर्ने र बुझ्ने । कृषि, उर्जा, पर्यटन र कनेक्टिभीटीमा चीनको लगानी बृद्धि हुन्छ । चीनको लगानी संसारको सबै देशमा बढेको छ । नेपालमा पनि बढ्न जरुरी छ ।

विशाल भट्टराई, नेता नेकपा

प्रधानमन्त्री ओलीको यो भ्रमण अघिल्लो भ्रमणभन्दा अत्यन्तै फरक अवस्था छ । अहिले दुई तिहाईको सरकार बनेको छ । उहाँ जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्छ । अघिल्लो भ्रमणमा भएका सम्झौताको कार्यान्वयन गर्ने बेला हो । अहिले कनेक्टिभिटी महत्वपूर्ण हो । रेलमार्गको डिपिआरमा हस्ताक्षर हुन्छ । द्धिपक्षीय सम्बन्धमा रहेका सखैखाले द्धिविधा हटाउनको लागि यो भ्रमण महत्वपूर्ण हुन्छ । सफल हुन्छ । अहिले पनि भ्रमण सफल नै छँदैछ । नेपालको विकासको लागि भ्रमण कोशेढुंगा नै सावित हुन्छ ।

शंकरदास बैरागी, परराष्ट्रसचिव

यो भ्रमणलाई महत्व्पूर्ण अवसरको रुपमा लिएका छौं । नेपालर चीन सम्बन्धलाई सुदृढ बनाउन यो राम्रो मौका हो । त्यस्तै चीनीयाँ सहयोगको नयाँ क्षेत्र पहिचान गर्न पनि प्रमको भ्रमण सफल हुन्छ ।

राजेशकाजी श्रेष्ठ, अध्यक्ष नेपाल चेम्बर अफ कमर्स

चीनीयाँ लगानी ह्वात्तै बढ्ने कुराबारे दुवै पक्षबाट सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्न जोड दिनुपर्छ । यदि कार्यान्वयन भयो भने राम्रो कुरा हो । यसको लागि कोशिस र काम धेरै गर्छौं । विगतमा गरिएका सहि तथा सम्झौतालाई अब ढिला नगरी कार्यान्वयन गर्नुपर्छ ।

रमेश सिलवाल, शिक्षा उद्योगी

मेरो विचारमा दुई देशबीचको सम्बन्ध सुमधुर छ । आगामी दिनमा सम्बन्ध अझै प्रगाढ र दिगो हुन्छ । यातायात, रेलवे, उर्जाको क्षेत्रमा र विभिन्न परियोजनाको क्षेत्रमा यो भ्रमण फलदायी हुन्छ । चीनको लगानी गर्ने सम्झौता १००० मेगावाट, खनिज, पर्यटन, पूर्वाधार क्षेत्रमा लगानी छ । यो भ्रमणसँगै अब होटेल म्यानेजमेन्टको क्षेत्रमा पनि भूमिका खेल्न सक्छ ।

शशि पौडेल, नेपालको सबैभन्दा ठूलो डेरी फार्म सञ्चालक

नेपालका हरेक क्षेत्रमा लगानी गर्न चीन तयार हुनुपर्छ । कृषिको विकास नेपालमा पनि हुनुपर्छ । चनिको पनि भावना छ । हामी बढि कुरा गछौं, हामी काम कम गर्छौं । चीनीयाँहरु काम बढि गर्छन । प्रधानमन्त्रीको चीन भ्रमण सफल हुनुपर्छ । सफल भएन भने नेपाल र नेपालीको भविष्यमा प्रश्न चिन्ह उठ्न सक्छ ।

रमेश शर्मा, उद्योगपति

मलाई लाग्छ के भने प्रधानमन्त्री चीन आउनुभन्दा अघि नै महत्वपूर्ण सम्झौता हुन्छ भनिएको छ । पूर्वाधार विकासमा जोड दिईएको छ । हामीले पनि उत्सुकताका साथ हेरेका छौं । पूर्वाधार विकासमा पनि सहमति हुने सम्भावना छ । ५ वटा चीनीयाँ कम्पनी र नेपालका विभिन्न संस्थाहरुसँग सम्झौता हुन्छ ।

कृष्ण दुलाल, व्यवसायी
भ्रमण उपलब्धिमूलक भएको छ । लगानी भित्र्याउने क्रममा एक अर्कालाई परिचय गर्दै अघि बढेका छौं । दुवै देशका व्यवसायीहरुबीच । लगानी गर्दा प्रतिफल आउँछ ।

कृष्ण आचार्य,  उद्योगपति

विशेषगरि नेपाल र चीनबीच आर्थिक सम्बन्धको कुरा छ । हाईड्रोपावरमा हस्ताक्षर आज भएको छ । विकासमा चीनसँग हामी भरपर्न सक्छौं । यो भ्रमणले जलविद्युत क्षेत्रमा ठूलो फड्को मार्दैछ । १२ सय मेगावाट बराबरको हस्ताक्षर हुँदैछ । दुवैको लागि आवश्यक छ । उनीहरुको निम्ति अवसर छ । हाम्रो लागि आवश्यकत्ता छ । त्योबाहेक नेपाल र चीनबीच सिधा रेल सम्पर्क बढाउने कुरा छ । लगानी ठूलो छ । त्यो लगानी गर्न चीनीयाँ पक्ष तयार छन् । सम्भव छन् । संसारभरि नै चीनीयाँहरुको बारेमा प्रविधिबारे फड्को मारिरहेका छन् ।
नेपालको हरेक क्षेत्रमा चीनीयाँहरु लगानी गर्न तयार छ । कार्यान्वयन गर्ने कुरामा नेपालको व्यूरोक्रेसीले सहयोग गर्यो भने राम्रो हुन्छ ।



प्रतिक्रिया दिनुहोस्