Logo

२४ घण्टामा एसईईको अर्को नतिजा



काठमाडौं ११ असार । एसईई परीक्षाको शनिबार सार्वजनिक नतिजा त्रुटिपूर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले स्वीकार गरेको छ । नतिजा सार्वजनिक भएको २४ घण्टापछि कार्यालयले नतिजामा त्रुटि भएको जनाएको हो । कार्यालयले आइतबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘नतिजाको वेबसाइटमा रहेको डाटामा प्राविधिक समस्या देखिएकाले पहिले ग्रेडसिट डाउनलोड गरिसकेका परीक्षार्थीले पुन: डाउनलोड गर्न अनुरोध छ ।’

आइतबार दिनभर विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयले ग्रेडसिट प्रिन्ट गर्दा फरक–फरक जीपीए आएपछि कार्यालयलाई जानकारी गराएका थिए । त्यसलगत्तै बसेको परीक्षा बोर्डको बैठकले त्रुटि सच्याउने निर्णय गरेको थियो ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्राविधिक त्रुटिका कारण नतिजामा गडबडी आएको स्वीकार गरे । ‘नेपाल टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा ग्रेडसिट हेर्ने व्यवस्था गरेका थियौं,’ उनले भने, ‘कार्यालयको साइटले डाटा सपोर्ट नगर्दा समस्या भयो ।’ टेलिकमको साइटले भने आधिकारिक ग्रेडसिट देखाएको उनको दाबी छ । विषयअनुसारको ग्रेड प्वाइन्ट सफ्टवेयरले सपोर्ट नगर्दा समस्या आएको कार्यालयका प्राविधिकहरूको भनाइ छ ।

‘पहिले हेर्दा थोरै थियो, पछि ग्रेड बढेर आएको छ,’ काठमाडौं प्याब्सनका सदस्य विष्णुप्रसाद अर्यालले भने, ‘कुनचाहिँलाई विश्वास गर्ने ?’ एसईईजस्तो परीक्षाको नतिजामा भएको चरम लापरबाहीले परीक्षार्थी र अभिभावकले तनाव भोग्नुपर्‍यो ।

लिटिल स्टार स्कुल सतुंगलकी ०३००६५३ ‘ओ’ सिम्बोल नम्बरकी छात्रा जस्मिना गौतमको आइतबार बिहान रिजल्ट हेर्दा ३.९० जीपीए थियो । तर परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइटमा दिउँसो पुन: रिजल्ट हेर्दा ४.० जीपीए देखियो । यसबाट शिक्षक र अभिभावकसमेत छक्क परे । अरू विद्यार्थीको पनि ग्रेटसिट पुन: हेर्दा जीपीए बढेको भेटियो । ‘३५ विद्यार्थीमध्ये २० जनाको जीपीए बढेर आयो,’ शिक्षक निर्मल घिमिरेले भने, ‘यस्तो पनि हुँदो रहेछ भनेर हामी आश्चर्यमा पर्‍यौं ।’

सिम्बोल नम्बर ०३१७२७१ ‘एस’ भएकी अर्की छात्राको ग्रेडसिट पनि बढेको छ । सुरुमा हेर्दा उनको ग्रेडसिटमा ३.९० जीपीए थियो । पछि ३.९५ देखियो । ‘विद्यार्थीले आस गरेजस्तो नतिजा नल्याउँदा परीक्षा बिगारेको अनुमान गरेका थियौं,’ एक शिक्षकले भने, ‘परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले पो यस्तो भएको रहेछ, रिजल्ट पनि केटाकेटी खेलेजस्तो भयो ।’ कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्