Logo

रेल होइन, जनतालाई के आवश्यक छ त्यतातिर ध्यान दिनुपर्छ : विश्वकर्मा



असार ११, काठमाण्डौ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले प्रधानमन्त्री केपी ओलीले दोस्रो प्राथमिकतामा राखेको चीन भ्रमण कुटनीतिक हिसाबले सफल भएको बताएका छन् ।

प्रधानमन्त्री भएपछि चीन भ्रमणलाई पहिलो प्राथमिकता राख्ने बताए पनि भारत भ्रमणलाई नै पहिलो प्राथमिकतामा राख्नुचाँही ओलीको कमजोरी भएको विश्वकर्माले बताए ।

सम्बन्धित समाचार :

केरुङ–काठमाडौं रेलबारे प्रधानमन्त्री नै अस्पष्ट

‘चिनियाँ रेल काठमाण्डौ आउने भयो भन्ने त भाषण मात्रै हो, नतिजा कुर्नुपर्छ’

नेपालमा भारत र चीनको रेल अनुदानमामात्रै ल्याउनुपर्छ : डा. महत

के नेपालमा चिनियाँ रेल कुद्ला ?

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले चीन भ्रमणको वास्तविक फाइदा कति हुन्छ भन्ने कुरा चाँही आगामी दिनमा मूल्याङ्कन गर्न सकिने बताए ।

प्रधानमन्त्री ओलीले नेपालको विकासका कुरा गर्दा व्यङ्ग्यात्मक रुपमा खिल्लि उडाउने गरी भाषण दिने गरेको भन्दै विश्वकर्माले आपत्ति जनाए ।

“कहिले रेलका कुरा, कहिले पानी जहाजका कुरा, कहिले हावाबाट विजुलीका कुरा । यस्ता हास्यव्यङ्ग्य गरेर नेपालको समृद्धिको खिल्ली उडाँइरहनुभएको छ ।” विश्वकर्माले भने ।

चिनियाँ रेल नेपाल ल्याउँदा नेपाललाई के फाइदा हुन्छ भन्ने कुरामा ओलीले ध्यान नदिएको उनको आरोप छ ।

“लगानी कसले गर्ने भन्ने अझै स्पष्ट छैन । नेपालले लगानी गर्न सक्दैन । चीनले लगानी गर्ने चाहना देखाएको छैन । यस्तो अवस्थामा रेल आइहाल्छ भन्ने जस्तो कुरा गरेर त भएन नि । खेलौना रेल त आउन सक्छ । मानिस चढ्ने रेल आउन त वर्षौँ लाग्छ ।” विश्वकर्माले बताए ।

अहिले नेपाली जनतालाई के आवश्यक छ भन्ने कुरालाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा ठूला ठूला सपना देखाएर जनतालाई भ्रम छरिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्