काठमाडौं, ११ असार । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।
तर गृहमन्त्रालयको बजेटमाथिको छलफलमा प्रतिपक्षी दलका सांसदले गृहमन्त्रीको खोजी गर्दा उनी भने अनुपस्थित् थिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै बैठकमा अनुपस्थित् भएपछि प्रतिपक्षले आजको बैठक स्थगित् गर्न आग्रह गरेको थियो ।
प्रतिपक्षको नियमापत्तिपछि गृहमन्त्री थापाको खोजी भयो । सभामुख कृष्णबहादुर महराले समेत दायाँबायाँ मज्जाले हेरे । तर उनले गृहमन्त्री थापालाई नदेखेपछि सिंहदरबारबाट संसद भवन परिसर बानेश्वर आउने क्रममा गृहमन्त्री थापा ट्राफिक जाममा परेकोले आउन ढिलो भएको जानकारी गराएका थिए ।
मन्त्री बादल जाममा पर्दा सभामुख महरालाई भने टेन्शन भएको आजको बैठकमा दृश्य देख्न सकिन्थ्यो । सभामुखले बादलको खोजीमा बाध्य भएर आजको बैठक दश मिनेटका लागि स्थगित् गरेका थिए ।