असार १३, काठमाण्डौ । महानगरीय अपराध अनुसन्धान महाशाखाले अपरिचित व्यक्तिहरुले पठाएको ‘फ्रेण्ड रिक्वेष्ट एसेप्ट’ नगर्न सर्वसाधारणलाई अपिल गरेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै महाशाखाले सामाजिक संजाल प्रयोग गर्दा सचेत हुन आग्रह गरेको हो । महाशाखाले सामान्य तस्विरलाई विगार्ने, अश्लिल बनाउने र सामाजिक संजालबाट सार्वजनिक गर्ने प्रवृत्तिबाट टाढै रहन सचेत गराएको छ ।
फेसबुक, ट्वीटर, भाइबर, इमो, इन्टाग्राम लगायतका सामाजिक सञ्जालमा रहेका फोटाहरु तानेर विगारेर अश्लिल बनाएर पोष्ट गर्ने गतिविधि बढ्दै गएको महाशाखाको भनाई छ ।
साथै, जनमानसमा भ्रम सिर्जना गर्ने कुरा लेखेर विभिन्न व्यक्तिलाई अपमान एवं गाली गलौज गरी कमेन्ट गर्ने जस्ता गतिविधि नगर्न पनि महाशाखाले सचेत गराएको छ ।
त्यस्ता प्रकारको गैरकानुनी काम गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम दुई लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने उल्लेख गरेको छ ।