Logo

प्रधानमन्त्री उद्धार कोषमा ४ अर्ब १६ करोड



काठमाडौं ४ असार ।
पहिरो र बाढीलगायत विपद्‌मा परेर ज्यान गुमाउने व्यक्तिलाई राहत दिन र उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब १६ करोड रुपैयाँ जम्मा भएको छ । अर्थ मन्त्रालयले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दुई अर्ब रुपैयाँ निकासा दिएपछि कोषमा त्यति रकम जम्मा भएको हो ।

त्यसअघि कोषमा २ अर्ब १६ करोड रुपैयाँ थियो । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुुसार कोषले दैवी प्रकोपका घटनामा आर्थिक सहायता दिन तथा प्रकोपमा परेका व्यक्तिको उद्धारका लागि सोही कोषबाट गृह मन्त्रालयलाई रकम उपलब्ध गराउने छ ।
…………………………………………………………………………….
विपद् केलाई भन्ने ?
– महामारी, भूकम्प, पहिरो, बाढी, आगलागी, चट्याङ, शीतलहर, हिमपात, हिमपहिरो, आँधी, असिना पानी, हिमताल विस्फोट आदि
विपदको आँकडा
– हरेक वर्ष ५ सय बढी घटना
– हरेक वर्ष ९ सय जनाले ज्यान गुमाउने
– हरेक वर्ष ६ लाख ४० हजार व्यक्ति प्रभावित
– हरेक वर्ष ३० हजार घर क्षति/नोक्सान
– ४५ वर्षमा ४० हजारको ज्यान गयो
– नेपाल बाढी र पहिरोको हिसाबले ३० औं जोखिम मुलुकमा
–१९७१ देखि २०१५ सम्म पहिरोमा परेर ४,८३२ को ज्यान गयो
–१९७१ देखि २०१५ सम्म बाढीमा परेर ४,३४४ को ज्यान गयो
…………………………………………………………………………….

गृह मन्त्रालयले विपद्मा परेर ज्यान गुमाउने, घाइते हुने तथा सम्पत्ति गुमाउने पीडितलाई आर्थिक सहायता उपलव्ध गराउने गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक र गृह, संघीय मामिला, स्वास्थ्य, ऊर्जा, कृषि, भौतिक पूर्वाधार मन्त्रालयसहित प्रधानमन्त्री कार्यालयका प्रतिनिधि सदस्य रहेको सञ्चालक समितिले निर्णय गरेअनुसार आर्थिक सहायता उपलव्ध गराउने गरिएको छ ।

कोषको रकम विपद्बाट असर परेको वा पर्न सक्ने व्यक्तिको उद्धार र सम्पत्तिको संरक्षण, पीडितको तत्कालीन राहत र अस्थायी शिविर, भरणपोषण, आवश्यक खाद्यान्न, लत्ता–कपडा, औषधि, शैक्षिक सामग्रीजस्ता अत्यावश्यक वस्तु, घाइते, बिरामीको उपचार, ज्यान गुमाएकालाई काजक्रिया, सद्गद्, सचेतनामूलक कार्यक्रममा खर्च गर्न सकिने कोषको सञ्चालन नियमावलीमा उल्लेख छ ।

‘गृह मन्त्रालयले मागेअनुसार आवश्यकता हेरेर कोषको रकम निकासा गरिन्छ,’ प्रवक्ता कुँवरले कान्तिपुरसित भने, ‘आर्थिक सहायता/राहत र उद्धार कार्यमा बढी खर्च हुने गरेको छ ।’ गतसाता प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्’ को बैठकले विपदको तयारीमा जुट्न सरोकारवाला मन्त्रालयलाई निर्देशन दिएको थियो ।

यस्तै, पहिरोको जोखिममा रहेका पाँचवटा राजमार्गमा २४ सै घण्टा डोजर र एस्काभेटरसहितको जनशक्ति परिचालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ । देशभरि मनसुन सक्रिय नहुँदै नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरोले समस्या सिर्जना गर्न थालेको छ ।

मनसुन अवधिभर सम्भावित विपदका घटनालाई मध्यनजर गर्दै उद्धारका लागि १ नम्बर प्रदेशको इटहरी, ४ को पोखरा र कर्णालीको सुर्खेतमा नेपाली सेनाका हेलिकप्टर र तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा (स्ट्यान्डबाई) राखिसकिएको छ । नेपालमा बाढीपहिरोबाट वार्षिक सरदर २ सय ४० जनाको ज्यान जाने गरेको सरकारी तथ्यांक छ ।

नेपालमा विपद्बाट हरेक वर्ष हुने ५ सयभन्दा बढी घटनामा ९ सय जनाले ज्यान गुमाउने गरेका छन् भने बर्सेनि ६ लाख ४० हजार व्यक्ति प्रभावित हुने गरेका छन् । यस्तै, हरेक वर्ष ३० हजार घरको क्षति हुने गरेको छ । विपदका घटनामा महामारी, भूकम्प, पहिरो, बाढी, आगलागी, चट्याङ, शीतलहर, हिमपात, हिमपहिरो, आँधी, असिनापानी, हिमताल विस्फोटलगायत पर्छन् ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्