काठमाडौं ४ असार ।
३८ क्विन्टल सुन तस्करी प्रकरण –
साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका वीरगन्जका व्यापारी राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको छ । दारुका आफैँले अहिलेसम्म ६ क्विन्टल सुन तस्करी गरेको स्वीकार गरेका हुन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिसँग दारुकाले तस्करी स्विकार्दै बयान दिएका हुन् । नेपाली बजारमा अहिलेको भाउअनुसार ६ क्विन्टल सुनको मूल्य २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ पर्छ ।
समितिले उनलाई मंगलबार दरबारमार्गस्थित होटेल अन्नपूर्णबाट पक्राउ गरेको थियो । समितिका सदस्य एसएसपी वसन्त लामाका अनुसार उनले तस्करी गरेको सुनको यो परिमाण १०–१२ वर्षदेखिको हो । एसएसपी लामाले भने, ‘उनको बयान लिने क्रम सुरु भएको छ । बयानकै क्रममा उनले पटकपटक गरी अहिलेसम्म ६ क्विन्टल सुन तस्कर गरेको स्विकार गरेका छन् । विगत १०–१२ वर्षदेखि उनी सुन तस्करीमा संलग्न रहेको खुलेको छ ।’
तस्करी गरेको सुन भारत लगेर बेच्थे
दारुकाले एमके अग्रवाल, विमल पोद्दार, राजेन्द्र शाक्य, भुजुङ गुरुङसँग सुन लिने र वीरगन्ज नाका हुँदै भारतीय बजारमा लगेर बेच्ने गरेको छानबिन समितिले जनायो । समितिका सदस्य एसएसपी लामाले भने, ‘दारुकाले विभिन्न व्यक्तिसँग तस्करीका लागि सुन खरिद गर्ने गरेको देखिन्छ । अहिलेसम्म एमके, भुजुङ, पोद्दार, आरके ज्वेलर्सलगायत समूहसँग कारोबार गरेको देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । बाँकी तथ्य खुल्दै जाला ।’
एमकेको घर तलासी गर्दा भेटिएको प्रमाण र पक्राउ परेका विमलको बयानका आधारमा समितिले उनलाई पक्राउ गरेको हो । समितिका अनुसार दारुकाको वीरगन्जमा सुन रिफाइनरी कारखानासमेत छ ।
बिहे भोजबाटै यसरी परे पक्राउ
एमकेको घर तलासीका क्रममा भेटिएका डकुमेन्ट अध्ययनपछि राजु दारुका समितिको निगरानीमा थिए । यहीबीचमा विमल पनि पक्राउ परे । विमलसँगको बयानले सुन तस्करीमा दारुकाको संलग्नता झन् पुष्टि ग-यो । पक्राउ गर्न समितिको टोली खटियो । तर, उनी छोरा अंकितको विवाहको तयारीमा रहेछन् । यस्तो वेला पक्राउ गर्नु समितिले ठीक ठानेन । त्यसपछि विवाह सकेलगत्तै पक्राउ गर्ने योजना बन्यो । अंकितको विवाह भएको पुल्चोकस्थित होटेल हिमालयनमा पनि प्रहरीले निगरानी गरिरहेको थियो ।
भोज भने दरबारमार्गस्थित होटेल अन्नपूर्णमा राखिएको थियो । विवाह सकिएपछि मंगलबार बेलुका जन्ती होटेल अन्नपूर्णतिर लागेपछि प्रहरी पनि पुग्यो । विवाहको भोज सकिएपछि दारुका परिवारसँग घर फर्किने तयारीमा थिए । छानबिन समितिको टोलीले उनलाई त्यहीवेला पक्राउ ग-यो । अहिले हिरासतमा राखेर बयान लिने काम भइरहेको छ ।
समितिको अनुसन्धान संघारमा, साढे ३३ केजी सुनको अत्तोपत्तो छैन
साढे ३३ केजी सुन र सनम शाक्य हत्या अनुसन्धान गर्न गठित समितिको अनुसन्धान करिब–करिब संघारमा पुगेको छ । समितिले सुन तस्करीका ‘मास्टर माइन्ड’ मानिएका चूडामणि उप्रेती उर्फ गोरेदेखि प्रहरीका उच्च अधिकारीसम्मलाई पक्राउ गरेर अनुसन्धान गरेको छ । तर, तस्करी भएको भनिएको साढे ३३ केजी सुन भने बरामद गर्न सकेको छैन ।
समिति संयोजक पौडेलले भने, ‘समितिको अनुसन्धान अब करिब–करिब संघारमा पुगेको छ । हामीलाई साढे ३३ केजी सुनसँगै जोडिएर हत्या भएका सनम शाक्य घटना अनुसन्धान गर्न म्यान्डेट थियो । यस क्रममा ७० भन्दा धेरै पक्राउ परेका छन् । प्रहरीका उच्च तहका अधिकृत पनि पक्राउ परेका छन् । हाम्रो अनुसन्धान सकिएको छ । अब बाँकी काम अदालतको हो । तर, घटनामाथि हामीले अनुसन्धान नै नगर्ने भन्ने होइन । समितिको म्याद असार मसान्तसम्म छ । त्यस अवधिसम्म हाम्रो अनुसन्धान जारी रहनेछ । फरार अभियुक्तको खोजी जारी रहनेछ ।’
नयाँपत्रिकाबाट