काठमाडौं १६ असार ।
अत्याधुनिक एसएमजी बन्दुक बोकेर मोटरसाइकलमा सवार एक व्यक्ति प्रहरीसँगको भिडन्तमा मारिएका छन्न । केही दिनदेखि राजदेवी नगरपालिका–४ गडहियास्थित बागमती नदीको बाँधमा हातहतियारसहित केही व्यक्ति ओहारदोहोर गरेको सूचनाका आधारमा गस्तीमा निस्केको प्रहरीसँग गोली हानाहान भएको थियो ।
बिहीवार राति करिब १० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकल चेक गर्ने क्रममा प्रहरीतर्फ गोली हानिएपछि जवाफी फायर गर्दा ती युवक गोली लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा गौर अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
मोटरसाइलमा सवार नाम ठेगाना नखुलेका करिब २६ वर्षका युवा प्रहरीको कारबाहीमा मारिएका हुन् । प्रहरीले घटनास्थलबाट अत्याधुनिक हतियार एसएमजी एक थान र त्यसमा प्रयोग हुने गोली ४ तथा पड्किएको गोलीको खोका दुई थान बरामद गरेको जनाएको छ ।
तीनजनाको सख्यामा रहेकामध्ये अन्य दुईजना भने बन्दुक पड्काउँदै भारततर्फ भागेको प्रहरीले उपलव्ध गराएको प्रेस नोटमा उल्लेख गरेको छ । मृतकको खुट्टा र पेट नजिकै गोली लागेको गौर अस्पतालका चिकित्सकहरुले जनाएका छन् । मृतक युवक नेपाली या भारतीय हुन् भन्ने खुलेको छैन ।
घटनास्थल नजिकै रहेका स्थानियबासीले भने भिडन्त नभएको दाबी गरेका छन । प्रहरीले ती युवकलाई पक्राउ गरी जीपमा राखेर बागमती नदी किनारमा ल्याएर गोली हानी मारेको आरोप स्थानीयले लगाएका छन । घटनास्थलबाट करिब एकसय मिटर टाढा घर भएका स्थानीयबासी अहिले त्रसित छन् । राति नै गाउँलेले प्रहरीलाई घेराउ समेत गरेका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला प्रहरी कार्यलय गौरबाट प्रहरीको संयुक्त टोली त्यसतर्फ गएको थियो । घटनास्थल सदरमुकाम गौरबाट करिब १० किलोमिटर उत्तर–पूर्बस्थित बागमती किनारमा पर्दछ । प्राथमिक विद्यालय गडहियाको चौर नजिकै गोली चलेपछि शुक्रवार विद्यालय समेत बन्द भएको छ । विद्यालय नजिकै गोली चलेर मान्छे मारिएपछि त्रसित भएर शुक्रवार शिक्षक र विद्यार्थी नआएको गाउँलेले बताएका छन् ।
अन्नपूर्णपोष्टबाट