असार १८, काठमाण्डौ । प्राध्यापक डाक्टर गोविन्द केसीले अनशन बस्ने चेतावनी दिइरहँदा निजी मेडिकल कलेजलाई सहजै सम्बन्धन दिन सकिने व्यवस्था राखिएको विधेयक संसदमा दर्ता भएपछि विवाद बढेको छ । माथेमा प्रतिवेदन र डा गोविन्द केसीको माग विपरित सरकारले विधेयक संसदमा दर्ता गराएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि विरोध गरेको छ ।
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले हरेक स्रोत र साधनको प्रयोग दुर दराजका जनताले पनि गर्न पाउनुपर्ने भएकाले केसीको माग जायज भएको बताएकी छिन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भुसालले अहिलेको चिकित्सा शिक्षा सम्बन्धी विधेयकले केन्द्रलाई मात्र शक्तिशाली बनाउने बताइन् ।
सरकारले संसदको नियमावली निलम्बन गरेर विधेयक पास गराउने रणनीति लिए पनि कांग्रेसले त्यसलाई रोकेको थियो । सरकारले संसदलाई कमजोर बनाउन खोजेको भुसालको आरोप छ ।
“नियम निलम्बन गरेर होइन, ससंदमा छलफल गराएर मात्रै विधेयक पास गराउनुपर्छ । दुई तिहाइ छ भन्दैमा जस्तो सुकै कानुन ल्याए पनि पारित गराउँछौँ भन्नेतिर सरकार लाग्नुहुँदैन ।” भुसालले भनिन् ।
सरकारले विधेयकलाई जनताको पक्षमा नभै व्यापारीको पक्षमा हुने गरी पास गराउने खोजेको उनको आरोप छ । “दलगत स्वार्थबाट केन्द्रलाई बलियो बनाउन खोजिएको छ । आफ्ना पार्टीका नेता कार्यकर्तालाई अवसर दिन खोजिएको छ । मनसाय नै दलगत देखिएको छ ।” भुसालले भनिन् ।
डा. केसीको माग र कांग्रेसको एजेण्डामा मेल खाएको भुसालको भनाई छ ।