काठमाडौं, १८ असार । नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह(ईपिजी)का नेपाल तर्फका संयोजक एवम् भारतका लागि पूर्वराजदुत डा. भेषबहादुर थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत द्धिपक्षीय समस्या समाधानको लागि असाध्यै महत्वपूर्ण भूमिका निर्वाह गरेको खुलासा गरेका छन् ।
हिमालय टेलिभिजनबाट हिजो राति ८ः०५ बजे प्रशारण भएको कार्यक्रम ‘धमलाको हमलामा’ पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
ईपिजीको काठमाडौंमा हालै सम्पन्न बैठकले संयुक्त प्रतिवेदन समेत तयार पारेको दुई दिनपछि धमलासँगको कुराकानीमा संयोजक थापाले यस्तो बताएका हुन् ।
उनले भने,‘यो २ वर्षको अवधिमा धेरै विशिष्ट व्यक्तित्वहरुसँग बसेर हामीले कुराकानी गर्यौं, धेरै गोप्य बैठकहरु पनि भए, सबैको एउटै सुझाव थियो, नेपाल–भारत सम्बन्ध सुमधुर बनाउनुपर्छ भन्ने नै थियो ।’ आफूहरुलाई जे गर्दा दुई देशबीचको समस्या समधान हुन्छ त्यसै गर्नुहोस् भनेर मोदी र ओलीले भनेको उनले सुनाए ।