Logo

बर्षाको पानिले किसानलाई राहत



रत्ननगर, चितवन, १९ असार । पर्याप्त पानीको अभावमा रोपाइँ गर्न नसकेका चितवनका किसानलाई सोमबारको वर्षाले ठूलो राहत दिएको छ ।

चितवनको शक्तिखोरका किसान टीकाप्रसाद जमरकट्टेलले वर्षा नहुँदा रोपाइँ गर्न नपाएकोमा पर्याप्त पानी परेकाले खुशी बनाएको प्रतिक्रिया दिए।

जिल्लामा वर्षा नहुँदा अहिलेसम्म करीब १५ प्रतिशत मात्रै रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय, चितवनका प्रमुख सुधीर श्रेष्ठले बताए ।

उनका अनुसार खेत गल्ने गरी वर्षा भएकाले अब धमाधम रोपाइँ हुने प्रतिक्रिया दिएका छन । “चितवनका किसानलाई ठूलो राहत भएको छ, श्रेष्ठले भने, उनीहरु खुशी भएका छन् ।”

यो पनि पढ्नुहोस्

मानो रोपेर मुरी फलाउने दिन गए

दाङमा १५ प्रतिशतमात्र धान रोपाइँ

पर्याप्त पानी नपर्दा रोपाइँ हुन सकेन

यान्त्रिक हलोले खेत जोत्न थाले महिला

पूर्वी चितवन क्षेत्रमा झण्डै २५ प्रतिशत रोपाइँ भएको छ । भरतपुर क्षेत्रमा करीब पाँच प्रतिशतको हाराहारीमा रोपाइँ भएको अनुमान कृषि कार्यालयको छ । इच्छाकामना गाउँपालिकामा रोपाइँ हुन सकेको थिएन भने कालिका नगरपालिकामा ५÷६ प्रतिशतमात्रै रोपाइँ भएको छ ।

दक्षिणी भेग माडीमा अहिलेसम्म १२ प्रतिशत रोपाइँ भएको अनुमान छ । अघिल्लो वर्ष यो समयमा जिल्लामा करीब २५ प्रतिशत रोपाइँ सकिएको थियो । यस वर्ष पानी नपर्नाले रोपाइँ हुन सकेको थिएन ।

पानी परेपछि भने सुख्खा क्षेत्रमा समेत रोपाइँ हुनेछ । रत्ननगरका किसान कृष्ण आचार्य पानी नपर्नाले मानिसले लगाएको आलीसमेत सुकेर बसेका बेला पानीले राहत दिएको बताए।

जिल्लामा यो वर्ष कूल २८ हजार ६०० हेक्टरमा धान रोपाइँ हुने अनुमान छ । अघिल्लो वर्ष २९ हजार हेक्टरमा धान रोपाइँ भएकोमा यस वर्ष ४०० हेक्टर क्षेत्रफल घट्ने देखिएको कृषि कार्यालय प्रमुख श्रेष्ठले बताए। रासस



प्रतिक्रिया दिनुहोस्