सुर्खेत, २० असार । मानसरोवर कैलाश पर्वतको तीर्थयात्रामा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ ।
यात्राका क्रममा असार १७ र १८ गते एक पुरुषसहित दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक सुरतबहादुर चन्दले जानकारी दिए । मृत्यु हुनेमा असार १७ गतेका दिन भारत आन्द्र प्रदेश कोरनुल निवासी पासपोर्ट नं। एम।०९०१३०३ का ५६ वर्षीय विनिता सञ्जय खिदाकर रहेको र उनको मृत्यु चीनको डोरपाकमा भएको प्रहरी नायब निरीक्षक चन्दले बताएका छन ।
उनका अनुसार मृतक खिदाकरको शवपरीक्षण ताक्लाकोटमा गरी निजको छोरा केटन सञ्जय खिदाकरको मञ्जुरीनामा अनुसार मंगलबार हुम्लाको हिल्सास्थित कर्णाली नदीको किनारमा दाहसंस्कार गरिएको छ ।
त्यस्तै, असार १८ गते भारत केरला लम्किड निवासी पासपोर्ट नं। एल।५४८६५९५ का ५६ वर्षीया महिला लीलानारायण म्याण्डेथको सिमकोटमा मृत्यु भएको उहाँले बताए । उनका अनुसार उनलाई शवपरीक्षणका लागि १९ गते सिम्रिक हेलिकोप्टरबाट सुर्खेत हुँदै काठमाडौँ लगिएको छ ।
सोही दिन अर्का तीर्थयात्री भारत आन्द्र प्रदेश काकीनाडा निवासी पासपोर्ट नं। आर।९३२७८६७ का ५७ वर्षीय पुरुष सत्यालक्ष्मी नारायण सुब्बा, राओ ग्राण्डी भेरा भेनकाको ताक्लाकोटमा मृत्यु भएको थियो । उनलाई पनि मंगलबार नेपालगन्ज हुँदै भारत लगिएको जनाईएको छ ।
हुम्ला जिल्लाका प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठले बाहिर सञ्चारमाध्यममा आएजस्तो तीर्थयात्री कोही पनि अलपत्र नपरेको बताएका छन। मौसम बिग्रेर हवाई यातायात सेवामा अवरोध भएकाले सिमकोटमा तीर्थयात्रीहरु बस्नु परेको र सबै सकुशल फर्किरहेको उनले जनाए । वैशाख–जेठदेखि शुरु हुने तीर्थयात्रामा आठ जना तीर्थयात्रीको हिँड्ने क्रममा मृत्यु भएको उनको भनाइ छ ।
उनका अनुसार आजभोलि पनि भारतीय तीर्थयात्रीहरु आउने–जाने क्रम निरन्तर चलिरहेको छ । मानसरोवर कैलाश समुद्री सतहबाट चार हजारदेखि चार हजार ५०० मिटर उचाइमा रहेकाले विशेषगरी लेक लागेर तीर्थयात्रीको मृत्यु हुने गरेको बताइएको छ । रासस