Logo

आफ्नै डाक्टर साथी मरिरहँदा हामी निरिह भएर हेर्न सक्दैनौँ : महासचिव कार्की



असार २२, काठमाण्डौ । नेपाल मेडिकल एसोसियसनका महासचिव डा. लोचन कार्कीले सरकारले डा. गोविन्द केसीसँग पटक पटक सम्झौता गर्न तर कार्यान्वनय नगर्ने गरेका कारण समस्या समाधान हुन नसकेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कार्कीले सरकार गैर जिम्मेवार भएका कारण केसीले सत्याग्रह गर्नुपरेको आरोप लगाए ।

सम्बन्धित समाचार :

गोविन्द केसीलाई लोकतन्त्रविरोधी भन्नेहरु निहित स्वार्थमा डुबेका छन् : जीवन क्षेत्री

“जिम्मेवार पक्ष सरकार हो । सरकारले सम्झौता मात्रै गरेर हुँदैन । कार्यान्वयन नगरेपछि कसरी समस्या समाधान हुन्छ ?” कार्कीले प्रश्न गरे ।

जीवन नै आहुति दिएर बसेका केसीको माग पूरा गराउनका लागि सरकारलाई दबाब दिनु संघको कर्तव्य भएको उनले स्पष्ट पारे । कार्यान्वयन गर्न नसक्ने सम्झौता नगर्न पनि उनले सरकारलाई सुझाब दिए ।

“आफ्नै डाक्टर साथी मरिरहँदा हामी निरिह भएर हेर्न सक्दैनौँ । आज १ बजे छलफल गरेर कार्यक्रमबारे जानकारी गराउँछौँ ।” उनले भने ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका विभिन्न माग राख्दै १५ र्औँ पटक अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै कार्कीले सरकारको ध्यानाकर्षण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्