असार २२, काठमाण्डौ । विसं. २०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेका थिए । तर निर्णयअनुसार अहिलेसम्म पनि गैडा पठाइएको छैन । दोस्रो पटक प्रधानमन्त्री भएपछि पनि केपी ओली चीन भ्रमण गरेर फर्किइसकेका छन् । अहिले भने गैँडाका बच्चा चीन पठाउने अन्तिम तयारी भइरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् । तिनीहरूलाई तीन मिटर गहिरो सोली आकारको खाडल (पिट बुमा) मा राखिएको छ । उपहारस्वरूप छिमेकी देश चीनलाई पठाउन निकुञ्जबाट नियन्त्रणमा लिएर ती केटाहरूलाई बुमामा राखिएको हो । नेपाल सरकारले ती केटाको नामकरण पनि गरिसकेको छ ।
चीन पठाउन लागिएको दुई जोडी गैंडामध्ये पहिलो चरणमा भद्र र रूपसीको जोडी जानेछ । यस जोडीलाई जुलाई १२ (असार २८) मा चीन पठाउन लागिएको छ । पिट बुमामा राखिएका गैंडाको नियमित स्वास्थ्यजाँच भइरहेको छ । स्वास्थ्य जाँचसमेत चिनिया टोलीले गनै गरिरहेको छ । खाडलको माथिल्लो भाग १२ मिटर र तल्लो भाग १० मिटर फराकिलो छ । जंगल चहार्दै हिँड्ने केटाहरू यसरी खाडलमा बस्न थालेको दुई महिना नाघिसक्यो ।
केटाहरूलाई बिहान र बेलुका दुईपटक दूध खुवाइन्छ । केरा, बन्दा, गाजर र स्याउ पनि उनीहरूका नियमित खाना हुन् । दुई घन्टाको फरकमा घाँस दिइन्छ । एउटा गैंडाले दिनमा तीन बोरा घाँस खान्छ । चीन पठाउने चार गैंडाका लागि घाँस काट्न तीनजना खटिएका छन् । गैंडाले मानिसलाई आक्रमण नगरोस् र विभिन्न रोग नलागोस् भन्दै तिनलाई बुमामा राखेर निगरानी गरिएको निकुञ्जले जनाएको छ । बुमा एक प्रकारको सुरक्षित खाडल हो, जुन तीन मिटर गहिरो हुन्छ भने चारैतिर बारले घेरिएको हुन्छ ।
गैंडालाई पिँजडा भित्र राखेर विमान मार्फत चीन लगिने छ । यसअघि चीनको प्राकृतिक बासस्थानमा एकसिंगे गैंडा नरहेपछि उसले नेपालसँग गैंडा मागेको थियो । त्यसअनुसार चिनियाँ टोली गैंडा, तिनको बासःथान र व्यवःथापनलगायत प्राविधिक पक्षबारे बुझ्न एक महिना अघि नै नेपाल आइसकेको थियो ।
नेपालले २०६२ फागनु १६ पछि कुनै पनि देशलाई गैंडा उपहार दिएको छैन । त्यतिबेला शाहिकालीन सरकारले अस्ट्रियाको भियनास्थित चिडियाखानालाई एक जोडी गैंडा उपहार दिएको थियो । चीनले २ जोडी गैंडा दिए बापत वन्यजन्तु संरक्षण र सूर्यविनायकमा बनिरहेको जुलोजिकल पार्कमा आर्थिक सहयोग गर्ने बचन दिएको छ ।