काठमाडौं, २३ असार । शिक्षा मन्त्रालयका उपसचिव गणेश ढकाल नेतृत्वमा १२ साउन ०७४ मा साझाको बेथितिमाथि छानबिन गर्न समिति गठन भएको थियो । समितिले साझामा आर्थिक अनियमितता भएको प्रतिवेदन मन्त्रालयमा बुझायो ।
डोलिन्द्र शर्मामाथि साझाकै लोगो राखेर व्यक्तिगत रूपमा पुस्तक प्रकाशन गरेको, आफूअनुकूल कर्मचारी भर्ती गरेको, वार्षिक आम्दानी र पुस्तक बिक्री–वितरणको हिसाबकिताबमा गडबडी गरेकोलगायतका आरोप लागेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
छानबिन समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको थियो । ८ असोज ०७४ मा मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्मालाई शिक्षा मन्त्रालयले बर्खास्त ग-यो ।
सर्वोच्च अदालतले १४ कात्तिक ०७४ मा शर्मालाई काममा फर्कन अन्तरिम आदेश दियो । न्यायाधीशद्वय दीपकराज जोशी र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले उनको पुनर्बहाली गरेको हो ।