Logo

पूर्वाधार, गुणस्तर र मापदण्ड पुगेका कलेजलाई सम्बन्धन दिँदा काउन्सिललाई आपत्ति हुँदैन : अध्यक्ष प्रा.डा. बाँस्कोटा



काठमाडौं, २५ असार । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. धर्मकान्त बाँस्कोटाले पूर्वाधार र गुणस्तरीय शिक्षा प्रदान गर्ने मेडिकल कलेजहरुलाई सम्बन्धन दिँदा आफूहरुलाई आपत्ति नहुने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘कतिवर्षसम्म सम्बन्धन दिने वा नदिने भन्ने कुरा प्रधान होईन, काउन्सिलको दायित्व भनेको मापदण्ड हेर्ने हो, हामीले त क्वालिटी र पूर्वाधारको हेर्ने हो, कसले पूर्वाधार लगायतका आवश्यक मापदण्ड पूरा गरेका छन् त्यो कुरा हेर्नुपर्छ, यदि ती कुराहरु पूरा भएका छन् भने सम्बन्धन दिँदा हामीलाई आपत्ति हुँदैन।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष बाँस्कोटाले भने,‘नेपालमा पहिलो निजी मेडिकल कलेज मणिपाल मेडिकल कलेजलाई सम्बन्धन दिँदा उससँग आफ्नो अस्पताल नै थिएन, पूरा क्राईट एरिया नै पूरा नगरी सम्बन्ध दिईयो, आवश्यक मापदण्ड पूरा नगर्दा विकृति तथा विसंगतिहरु भित्रियो, नेपालमा पूर्वाधार नै नपुगेका मेडिकल कलेजहरुलाई सम्बन्ध दिने गलत प्रवृत्तिको सुरुवात भयो, पहिला सम्बन्धन दिईयो, पछि कलेजहरुले विद्यार्थीहरुसँग पैसा लिएर नै पूर्वाधार खडा गरेका हुन्।’

चिकित्सा शिक्षा सुधारको लागि ०७१ सालमा गठन भएको कार्यदलले त्यतिवेला सही र सान्दर्भिक प्रतिवेदन दिएपनि अहिलेको परिवर्तित अवस्थामा हुबहु त्यही प्रतिवेदन लागु हुनुपर्छ भन्ने नरहेको उनको भनाई थियो । उनले भने,‘माथेमा आयोगले पनि सबै मेडिकल कलेजलाई एउटै बास्केटमा हाल्यो, बेमानलाई ठेगान लगाउनुपर्दथ्यो, सबैलाई एउटै बास्केटमा हाल्ने काम गलत भएको थियो।’

आफूले ०७२ जेठ अन्तिममा काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालको सुनाउँदै बास्कोटाले यो बीचमा डरलाग्दो तथ्यांक फेला पारेको बताए । उनले भने,‘सन् २०१४ मा एम.बि.बिएस र बि.डिए.स अध्ययनको लागि विदेश जाने विद्यार्थीको तथ्यांक १३६९ जना रहेछ, यो सन् २०१५ मा १४६१ पुग्यो, उनीहरु कति पैसा लिएर गए, कस्तो शिक्षा लिएर आउँछन् भन्ने कुरा हो, वास्तवमा नेपालमा मेडिकल ईन्टा«न्स फेल भएका ९० प्रतिशत विद्यार्थीहरु बाहिर पढ्न गएको देखिन्छ।’

अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले १४ पटक सम्झौता गरेको उल्लेख गर्दै उनले भने,‘मलाई लाग्छ यति धेरै पटक सम्झौता किन गरियो त ? यसका अघिका सरकारले डाक्टर केसीसँग १४ पटक सम्झौता गर्नु भनेको कार्यान्वयन नगर्ने हिसाबले नै सम्झौता गरेको भन्ने मेरो बुझाई छ।’

आफूले विगत तीन दशकदेखि डाक्टर केसीसँग सहकार्य गरेको सुनाउँदै उनले भने,‘उहाँ निडर र व्यवसायिक रुपमा सक्षम हुनुहुन्छ, कसैको प्रभावमा पर्नुहुँदैन्, केसीको आन्दोलन सराहनीय छ।’

फरक प्रसँगमा उनले भोलिका दिनमा निश्पक्ष, निडर र निस्वार्थी व्यक्ति नै आयोगमा जानुपर्ने सुझाए । उनले भने,‘उहाँजस्तो सक्षम र निस्वार्थी मान्छे आयोगमा जानुपर्छ, म यसको लागि सरकारलाई आग्रह गर्छु, भोलि गलत मान्छे गयो भने अहिलेको सुध्रिएको स्थितिपनि दोहोरिन्छ।’

 



प्रतिक्रिया दिनुहोस्